शीतलहरमा दलित गरिबको त्रिपालमुनि बास

सिरहा । शीतलहरसँगै बढ्दो चिसोले जनजीवन कष्टकर बनेको छ । शीतलहरमा अति जोखिममा रहेका नागरिकलाई विशेष प्राथमिकतामा राखेर काम गर्न स्थानीय प्रशासनले आग्रह गरेको भएपनि स्थानीय तहहरु भने आफ्नो क्षेत्रका जोखिममा रहेका नागरिकप्रति बेखवर छन् ।
सिराहाको कर्जन्हा नगरपालिका ६ बेतहा गाउँका करिब ३७ वर्षीय इन्दल सदा र उनका भाई २५ वर्षीय राजेन्द्र सदाको परिवार ओत लाग्ने झुपडी समेत पछिल्लो वर्षात्मा भत्किएपछि पुसको ठिहिर्याउने चिसोमा त्रिपालमुनि रात काट्न विवश छन् । ‘पछिल्लो वर्षात्मा लगातार परेको पानीले माटोको भित्ता भएको झुपडी भत्कियो’ त्रिपालमुनि रात काट्दै आएका पीडित इन्दलले सुनाए ।
मजदुरी गरेर श्रीमती, दुई छोरा र एक छोरीसहितको भरणपोषण गर्नुपर्ने भएकाले घर बनाउन नसकेको सुनाउँदै उनले भने ‘गाउँमा जनता आवासको घर आउँछ भनेर सुनेको थिएँ, तर न जनता आवासको घर आयो न आफूले ठड्याउन सकें ।’ वर्षात्मा ढलिसकेको घर ठड्याउन नसकेपछि त्रिपालमुनि रात काट्न बाध्य रहेको उनले गुनासो गरे ।
नागरिकता नबन्दा मानसिक रोगी
उनका कान्छो भाई राजेन्द्र सदाको त झन् कहालिलाग्दो अवस्था रहेको गाउँलेहरु बताउँछन् । उनकी श्रीमती करिब २३ वर्षीया लिला सदा पछिल्लो तीन वर्षदेखि मानसिक सन्तुलन गुमेपछि बेला बेलामा घर छोडेर हिंड्ने गरेकी छन् । ‘स– साना छोराछोरी छन्, श्रीमती मानसिक सन्तुलन गुमेर बेला बेलामा गाउँबाट बाहिर हिंड्ने गरेकाले उनको पछि लाग्नै पर्यो, बृद्धा आमाको पनि भरणपोषण गर्नु परेकाले साह्रै अप्ठ्यारोमा छु’ उनले भने ।


‘बुहारीको अवस्था ठीक नभएकाले साना नाति नातिनाको देखभाल गरिरहेकी छु’ राजेन्द्रकी ५५ वर्षीया आमा समुन्द्रीदेवी सदाले भनिन् ‘छोराले मजदुरी गरेर ल्याएपछि जसोतसो त खान्छौं, शीतलहरमा राम्रो ओत लाग्ने ठाउँ समेत नहुँदा बिचल्ली भोग्दै छौं ।’
धनुषाको लोहना माइती भएकी लिलाले करिब तीन वर्षअघि जेठानी तिलियादेवी सदासँगै नागरिकता बनाउन प्रयास गरेकी थिइन् । गाउँ नजिकै माइती भएकी तिलियाले केही दिनमै सबै कागजात जुटाएर वडा कार्यालयबाट सिफारिश बनाएर जिल्ला प्रशासनबाट नागरिकता लिएपछि आफ्नो नागरिकता नबनेको भन्दै लिला विक्षिप्त बनेको राजेन्द्र बताउँछन् ।
‘ढिलै भएपनि ससुरालीबाट जन्मदर्ताको प्रमाणपत्र ल्याएर वडाबाट आवश्यक कागजात मिलाएपछि नागरिकता बनाउन जाने तयारी गर्दैथिएँ’ उनले भने ‘मानसिक रुपले विक्षिप्त भएकी श्रीमतीले सबै कागजात जलाइदिछन्, त्यही बेलादेखि उनको मानसिक सन्तुलन बिग्रिएको हो ।
सदाको घर छैन भन्ने थाहा छैन : वडाध्यक्ष
कर्जन्हा नगरपालिका ६ का वडाध्यक्ष जगदिश महतोले बेतहा गाउँका दुई भाई सदा परिवार घर नभएर त्रिपालमुनि बसिरहेको बारेमा आफूलाई थाहा नभएको बताए । ‘त्यही गाउँमा निर्वाचित वडा सदस्य पनि हुनुहुन्छ, उहाँमार्फत् बझ्नु पर्ला ।
वडा कार्यालयबाट करिब एक किलोमिटरको दूरीमा रहेको सदा परिवारको बिचल्लीको बारेमा कसैले पनि नसुनाएको दावी गर्दै वडाध्यक्ष महतोले भने ‘प्रायः बेतहा गाउँ पुगिरहन्छु, कसैले केही पनि भनेका छैनन् ।’
कर्जन्हा बडहरामाल घर भएका दलित अगुवा तथा सामाजिक अभियानकर्ता सिजेन्द्र सदाले दलितहरुलाई कसैले पनि नहेरेको गुनासो गरे । ‘घर नहुँदा त्रिपालमुनि बसिरहेका सदाहरुको बारेमा त्यहींका वडाधयक्षले त थाहा पाएनन् तर दलित समुदायका नगर प्रमुखले त ध्यान दिनुपथ्र्यो नि’ सदाले आक्रोश पोखे ।
वनद्वारा दाउरा वितरण
शितलहरसँगै चिसो बढेपछि सर्वसाधारणलाई चिसोबाट जोगाउन लहानस्थित डिभिजन वन कार्यलयले पछिल्लो सातादेखि सार्वजानिक स्थलहरुमा दाउरा वितरण गरी घुर बाल्न थालेको छ । डिभिजनले सिरहाको लहान, धनगढी, गोलबजार, मिर्चैया, जिल्ला सदरमुकाम सिरहा, माडर, बन्दीपुर, सुखीपुर लगायतका स्थानहरुमा दाउर वितरण गरी घुर बालेको हो ।


डिभिजन प्रमुख सुभाष चन्द्र दासले आर्थिक बिपन्नताका कारण न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिएर कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले वनले दाउरा वितरण गर्नुका साथै सार्वजानिक स्थानहरुमा घुर बालेको बताए । पूर्व पश्चिम राजमार्ग बिस्तारको क्रममा काटिएका रुखका दाउरा वितरणसँगै घुर बाल्न प्रयोग गरिएको उनले बताए ।