माओवादी केन्द्रमा प्रचण्ड सर्वसम्मत अध्यक्ष

काठमाडौं । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
बैठकमा नेता नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा प्रचण्डलाई अध्यक्ष चयन गरेको हो । आगामी निर्वाचनपछि गर्ने भनिएको विशेष महाधिवेशनमा नेतृत्व परिवर्तन नभए प्रचण्डको कार्यकाल पाँच वर्ष हुनेछ । विधानमा दुई सय ९९ जना केन्द्रीय समितिको व्यवस्था भएपनि बन्दसत्रमा दुई सय ३७ जनाको अपूरो केन्द्रीय समितिको नामावली प्रस्तुत भएपछि अनुमोदन भएको थियो । सर्वसम्मत अध्यक्ष निर्वाचित भएका प्रचण्डसहित दुई सय ३७ जनाको सोमबार नै शपथग्रहण सम्पन्न भएको छ ।
२५ पुसमा हुने केन्द्रीय समितिको अर्को बैठकले केन्द्रीय समितिका बाँकी पदाधिकारीहरु एक जना बरिष्ठ उपाध्यक्ष, छ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष चयन गर्ने बताइएको छ । बैठकपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिंदै अध्यक्ष प्रचण्डले स्वास्थ्योपचारका लागि चीनमा रहेका नेताहरू वर्षमान पुन र ओनसरी घर्ती मंगलबार नेपाल फर्किएपछि छलफल गरेर पदाधिकारी टुंग्याउने बताए ।
अध्यक्षमा पुनः निर्वाचित भएपछि बैठकमा प्रचण्डले केन्द्रीय समितिलाई धन्यवाद दिंदै माओवादी आन्दोलन प्रचण्डको निजी नभएको र देश तथा पार्टीको आवश्यकताले पुनः अन्तिम पटक नेतृत्व गर्नुपर्ने बाध्यतामा आफूले जिम्मेवारी लिएको बताए । आठौं राष्ट्रिय महाधिवेशनमा विचारमा आधारित भएर राजनीतिक प्रतिवेदन र विधान पारित भएको भन्दै अहिलेको केन्द्रीय समिति सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिका रूपमा आएको उनले बताए ।