भेडेटारमा तीन दिने फुड फेस्टिभल

धनकुटा । आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रुपमा रहेको धनकुटाको भेडेटारमा नवौँ भेडेटार फुड फेस्टिभल शनिबार दोस्रो दिन पनि जारी रहेको छ ।
स्थानीय पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । अध्यक्ष राईका अनुसार नयाँ वर्षमा भारतीयहरुको विदा हुने भएकाले उनीहरुलाई पूर्वी नेपाल र विशेष गरी भेडेटारमा आकर्षित गर्न फेस्टिभल आयोजना गरिएको हो । उनका अनुसार भेडेटार आउने विदेशी पर्यटकहरुमा उत्तर भारतको जोगवनी आसपासका क्षेत्रका भारतीय पर्यटकहरुको संख्या बढी हुन्छ । फेस्टिभलमा विभिन्न जाति, समुदायका मौलिक परिकार, अर्गानिक खाना, स्थानीय कृषि उत्पादन सम्बन्धी १५ वटा स्टल रहेको आयोजकले जनाएको छ ।
होटल एसोसिएशन अफ भेडेटारद्वारा आयोजित फेस्टिभलको शुक्रबार उद्घाटन गर्दै प्रदेश १ का भौतिक योजना तथा पूर्वाधार मन्त्री हिमाल कार्कीले भेडेटारको विकासका लागि प्रदेश सरकार सधैं तयार रहेको बताए ।
एक करोडको कारोबार हुने अपेक्षा
गर्मी मौसममा समेत चिसो हुने भेडेटार धनकुटादेखि ३५ किलोमिटर दक्षिण तथा धरानदेखि करिब १७ किलोमिटर उत्तरमा अवस्थित पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य हो । धरान र धनकुटाको पर्यटन प्रबद्र्धनमा भेडेटारको उल्लेख्य भूमिका रहेकाले प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकासका लागि अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर फेस्टिभल आयोजना गरिएको हो ।
फेस्टिभलको उद्घाटनमा विभिन्न जातिको झाँकी प्रस्तुत गरिनुका साथै हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो । फेस्टिभल अवधिमा भेडेटार धरान प्याराग्लाइडिङ, मूलघाट–चतरा र्याफ्टिङ्, नमस्ते झरनामा पानीबाट डोरी टाँगेर झर्ने क्यानोनोइङ, साइक्लिनिङ, ध्वजेडाँडाबाट सूर्योदय हेर्ने प्याकेजिङ, राजारानी तालमा बोटिङ् लगायतका पर्यटकीय गतिविधि भइरहेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार फेस्टिभल अवधिमा माउन्टेन फ्लाइट र भेडेटार धरान जिपलाइन गरी दुवैमा १५ प्रतिशत छुट दिइएको छ । फेस्टिभलमा आन्तरिक तथा बाह्य गरी करिब ३० हजार पर्यटक सहभागी हुने र करिब एक करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।