प्रदेश १ सरकारलाई अन्तरकालिन अन्तरिम आदेश

मोरङ् । उच्च अदालत विराटनगरले प्रादेशिक संचार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञराज शर्मालाई तत्काल पदबाट नहटाउन अन्तरकालिन अन्तरिम आदेश जारी गरेको छ । प्रदेश १ सरकारका नाममा न्यायाधीश सत्यमोहन जोशी थारुको एकल इजलासले दुवै पक्ष राखी छलफल गर्नुपर्ने भन्दै छलफलका लागि पुस २५ गतेका लागि पेशी तोकेको छ ।
अघिल्लो सरकारले गरेका नियुक्तिलाई मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको प्रदेश सरकारले खारेज गरेपछि परेको रिट निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालतले निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । त्यसअघि प्रदेश पर्यटन बोर्ड खारेज गर्ने प्रदेश सरकारको निर्णय पनि उच्च अदालत विराटनगरले तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि बोर्डका पदाधिकारी आइतबारदेखि काममा फर्किएका छन् । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मंसिर ९ गते राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश पर्यटन बोर्ड तथा बोर्डका सदस्यहरूको नियुक्ति खारेज गरेको जनाएको थियो ।
गत असोज २४ गते तत्कालीन मुख्यमन्त्री भिमप्रसाद आचार्य नेतृत्वको सरकारले बोर्ड गठन गर्दै ११ सदस्यीय समितिलाई तीन वर्षका लागि नियुक्त गरेको थियो । बोर्डका सदस्यद्वय देवी गौतम र उमेश घिमिरेले दायर गरेको रिटमा उच्च अदालतका मुख्य न्यायाधीश तिलकुमार श्रेष्ठको एकल इजलासले बोर्ड खारेज गर्नुको कारण माग गर्दै प्रदेश सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राई नेतृत्वको मन्त्रिपरिषदले सञ्चार प्रतिष्ठान गठन गरेको थियो । पाँच दलीय गठबन्धनका तर्फबाट राजेन्द्र राई मुख्यमन्त्री मन्त्रिपरिषद्ले पूर्ववर्ती दुवै सरकारका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।