काठमाडौं । सत्तारुढ गठबन्धनमा समेत रहेको नेकपा (माओवादी केन्द्र) ले ११ देखि १३ पुससम्म काठमाडौंमा हुन गईरहको पहिलो राष्ट्रिय सम्मेलनको आधिकारिक लोगो सार्वजनिक गरेको छ । ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि प्रथम राष्ट्रिय सम्मेलन’ भन्ने नारासहित हुन गईरहेको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गर्न मंगलबार संघीय राजधानी काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
पार्टी प्रवक्ता महराका अनुसार राष्ट्रिय सम्मेलनमा देशभरबाट सहभागी हुने प्रतिनिधि, पर्यवेक्षकहरुको वैचारिक र राजनीतिक बहस हुनेछ । राष्ट्रिय सम्मेलनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लेखिरहेको दस्तावेजमा बृहत् छलफल हुने पत्रकार सम्मेलनमा उनले बताए । काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा हुने सम्मेलनमा करिब एक हजार पाँच सय प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
सम्मेलनका लागि काठमाडौं उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौंका विभिन्न ठाउँमा स्वागतद्वार बनाउन थालिएको छ । सम्मेलनमा प्रदेशबाट आठ सय तीन जना प्रतिनिधि, आयोजक एक सय र थप ६९ जना, सल्लाहकार एक सय ४९, केन्द्रीय विभागबाट एक सय दुई, पार्टीका विभिन्न आयोगबाट ७५, ज्येष्ठ नागरिक मञ्चबाट एक सय २५ र केन्द्रीय प्रतिनिधि २७ जना रहने बताइएको छ ।