अधिकार र आन्दोलनका लागि कार्यशाला

सिरहा । पछिल्लो साउनको २ गते मुक्त घोषित हरवा चरवाको आधारभूत अधिकार र आन्दोलनको आधार तय गर्न सिरहाको लहानमा आयोजित दुई दिवसीय कार्यशाला मंगलबार सम्पन्न भएको छ ।
सप्तरीको डाकनेश्वरी तथा बोदेबर्साइन नगरपालिकास्थित हरवा चरवा अधिकार मञ्चको नगर, वडा समितिका पदाधिकारी गरी ३० जनाको सहभागिता रहेको कार्यशालामा हरवा चरवा, तिनको अवस्था, कानुनी तथा नीतिगत व्यवस्था, हरवा चरवा मुक्तिको घोषणासँगै न्यायिक पुनःस्थापनाका लागि गरिनु पर्ने काम, संघ, प्रदेश तथा स्थानीय सरकारलाई जवाफदेही बनाउन हरवा चरवाले गर्नु पर्ने काम लगायतको बारेमा दलित अधिकारकर्मी महेन्द्र सदा तथा अधिवक्ता बालालराम भट्टराईले सहजीकरण गरेका थिए ।
कार्यशालामा सहभागी हरवा चरवा अगुवाहरुले मूलतः वडा तहमा योजना छनौट तथा प्राथमिकीकरणका लागि दबाब दिन अभियान संचालन गर्ने गरी हरवा चरवाको तथ्यांक संकलन, परिचय पत्र वितरण, स्थानीय तहको वार्षिक नीति तथा कार्यक्रममा हरवा चरवाको पुनःस्थापना तथा जीविकोपार्जका लागि योजना समावेश, जगाधनी दर्ता प्रमाण पूर्जाका लागि राष्ट्रिय भूमि आयोग र आप्mनो बसोवास रहेको स्थानीय तहसँग समन्वय गर्ने कार्ययोजना निर्माण गरिएको कार्यशाला आयोजक श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर विनोदानन्द चौधरीले बताए ।


द फ्रिडम फण्डको आर्थिक सहयोगमा आयोजित कार्यशालामार्फत् हरवा चरवा अगुवाहरुले निर्माण गरेको कार्ययोजना अनुसार आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुती पेश गर्नु अगावै स्थानीय. सरकारलाई ज्ञापन पत्रमार्फत् घच्घच्याउने र माग समावेश गराउन स्थानीय तह स्तरीय अभियान संचालन गरिने टिम लिडर चौधरीले बताए । डाक्नेश्वरी र बोदेबर्साइनको कार्याशाला लगत्तै बुधबारदेखि सप्तरीको शम्भुनाथ नगरपालिका तथा रुपनी गाँपालिकाका हरवा चरवा अगुवाहरुको दुई दिवसीय कार्यशाला संचालन गरिने योजना रहेको उनले बताए ।