सिरहा । आफ्नै जग्गा जमिन नभएकाले हातमुख जोड्नकै लागि कृषि मजदूरी हरवा चरवाको काम गर्दै आएका दलितहरु बिस्तारै बचत पनि गर्न थालेका छन् । सिरहाको धनगढीमाई नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकामा गठन गरिएको हरवा चरवा महिला बचत समूहमा सदस्यहरुले मासिक रुपमा नियमित बचत गरी आफूहरुलाई भैपरी आउने कामसँगै आयआर्जनको काम पनि गर्न थालेका हुन् ।
नियमित बचत गर्ने बानीको विकास र भवितव्य कामका लागि आफ्नै समूहबाट थोरै ब्याजमा रकम चलाउनका लागि नियमित बचत गरिरहेका स्थानीय महिलाहरु बताउँछन् । धनगढीमाई नगरपालिका २ भवानीपुरको राधाकृष्ण समूह, वडा नं. ९ मुसहर्नियाको माँ धमिनी समूह, लक्ष्मीपुरपतारी १ को जानकी महिला समूह, वडा नं. ४ को दिनाभद्री महिला समूह, सखुवानन्कारकट्टी १ को माँ अम्बे समूह र ३ को भगवती महिला समूहमा आबद्ध महिलाहरुले आ–आफ्नो समूहमा मासिकएक सय रुपैयाँ बचत गरिरहेका छन् । हरेक समूहमा डिसेम्बर महिनासम्म पाँच हजार रुपैयाँसम्म बचत भएको छ । त्यसका द फ्रिडम फण्डको सहयोगमा हरवा चरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत दलित जनकल्याण युवा क्लवले सहजीरकण गरिरहेको छ ।
कार्यक्रम अन्तर्गत लक्ष्मीपुरपतारी, सखुवानन्कारकट्टी गाउँपालिकाका ७५ जना हरवा चरवा बालबालिकालाई झोला, स्टेशनरी सामग्रीसहितको छात्रबृत्ति वितण गरिएको छ । लक्ष्मीपुरपतारी गाउँपालिका १ रामपुर पिप्रामा हरवा चरवा अधिकार मञ्च जिल्ला सदस्य चलितर मण्डल, गाउँपलिका अध्यक्ष परमेश्वर मण्डलको उपस्थितिमा हरवा चरवा परिवारका ४० जना बालबालिकालाई एक/ एक थान झोला, ६/६ थान कापी र पाँच/पाँच थान डटपेन वितरण गरिएको हो । हरवा चरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत रामपुर पिप्रामा बाल ट्युसन कक्षामा पढिरहेका बालबालिकाहरुलाई छात्रबृत्ति वितरण गरिएको हो ।
त्यस्तै, हरवा चरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत माँ अम्बे महिला बचत समूहकी अध्यक्ष परमदेवी रामको उपस्थितिमा सखुवाकन्कारकट्टी गाउँपालिका १ भौर कटैया गाउँमा हरवा चरवा परिवारका ३५ बालबालिकालाई एक/ एक थान झोला, ६/६ थान कापी र पाँच/पाँच थान डटपेन वितरण गरिएको छ । धनगढीमाई नगरपालिका २ भवानीपुर गाउँका हरवा चरवा परिवारका १० जना बालबालिकालाई मञ्चका जिल्ला अध्यक्ष श्यामसुन्दर सदायको उपस्थितिमा एक/ एक थान झोला, ६/६ थान कापी र पाँच÷पाँच थान डटपेन वितरण गरिएको छ ।