सप्तरी । जिल्ला सदरमुकाम समेत रहेको सप्तरीको राजविराज नगरपालिकाका निवर्तमान मेयर समेत रहेका शम्भुप्रसाद यादवले निर्वाचित मेयरको राम्रो काममा हातमा हात मिलाएर काम गर्ने उद्घोष गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) बाट मेयर पदका प्रत्याशी समेत रहेका यादवले शुक्रबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमार्फत् मतदाताहरुलाई धन्यवाद दिंदै भने ‘मेयरसहितका पदमा निर्वाचित जनप्रतिनिधिहरुको राम्रो काममा हातमा हात मिलाएर काम गर्नेछु ।’ नगर वा नगरबासीको अहित हुने गरी काम हुन लागे वा भएको खण्डमा जनतासँग मिलेर प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उनको भनाइ थियो । जनताले प्रतिपक्षमा बस्न दिएको आदेशप्रति धन्यवाद दिंदै उनले आगामी दिनमा जनतासँगै हातेमालो गरेर अघि बढ्ने बताए । ‘मेरो जीवनको मुख्य लक्ष्य नै जनताप्रति उत्तरदायी भएर राजनीति गर्ने हो’ उनले भने ‘जनताको सेवामा हरेक क्षण समर्पित रहनेछु ।’
पूर्व मेयरको कार्यालय स्थापना
जनतासँगै बसेर जनताको समस्या समाधान गर्न राजविराजमै पूर्व मेयरको कार्यालय संचालन गर्न लागेको नेता यादवले पत्रकार सम्मेलनमा जानकारी दिए । ‘केही दिनभित्रै पूर्व मेयरको कार्यालय स्थापना गर्दैछौं’ उनले भने ‘त्यहाँबाट जनताको समस्या समाधानका लागि पहल गर्ने र प्रत्यक्ष रुपमा जनताको सेवामा लाग्ने छु ।’
नवनिर्वाचित मेयरले नगरमा थालेका कार्यलाई कुन रुपमा लिनु हुन्छ ? भन्ने प्रश्नमा निवर्तमान मेयर यादवले भने ‘राम्रो कामलाई राम्रो भन्नुपर्छ तर सुन्दैछु ‘टुरिज्म एरिया’ निर्माणका लागि नगरपालिकाले दानमा पाएको जग्गा छाडेर अर्कै ठाउँलाई चयन गर्ने जुन काम भइरहेको त्यो सरासर गलत हो ।’ करिब अढाई करोड रुपैयाँ बराबरको राजविराज ११ मा १७ कठ्ठा जग्गा दानमा पाएपछि टुरिज्म एरिया निर्माण गर्न शिलान्यास समेत भइसकेको जानकारी दिंदै उनले भने ‘त्यो जग्गामा टुरिज्म एरिया नबने सरासर गलत हुनेछ ।’ निर्वाचनको प्रचार प्रसारको समयमा आम सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले गरेको सहयोगप्रति उनले धन्यवाद व्यक्त गरे ।
पत्रकार सम्मेलनमा माओवादी केन्द्रबाटै उपमेयरकी प्रत्यासी पर्मिलाकुमारी साहले पनि मतदाताहरुलाई धन्यवाद दिइन् । ‘जित हार भनेको निर्वाचनको एउटा प्रक्रिया हो, ती प्रक्रिया नै लोकतन्त्रको मूल आधार र मान्यता पनि हो’ उनले भनिन् ने ‘हामीलाई यो पटक जनताले प्रतिपक्षमा राख्न निर्देश गरेकाले प्रतिपक्षमा रहेर त्यो जिम्मेवारी पूरा गर्नेछौं ।’