सिराहामा चार हजार छ सय ९८ जनाको उम्मेदवारी

सिरहा । आगामी ३० वैसाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सिराहाको १७ स्थानीय तहका कुल आठ सय ५४ पदका लागि दल र स्वतन्त्र गरी करिब चार हजार सात सय जनाले उम्मेदवारी दिएका छन् ।
जिल्लाको आठ नगरपालिका र नौ गाउँपालिकामा मेयर/ अध्यक्ष दुई सय ९७, उपमेयर/ उपाध्यक्ष पदमा एक सय ३४ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिराहाले जनाएको छ । मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलका अनुसार जिल्लाको एक सय ६४ वडा वडाका लागि वडाध्यक्ष पदमा एक हजार ६५, सदस्य एक हजार छ सय १७, महिला सदस्य सात सय ९७ र दलित महिला सदस्य पदका लागि छ सय ७८ जनाले उम्मेदवारी दिएका छन् । ‘जिल्लाभरीको सबै पदका लागि परेको उम्मेदवारहरुको फाइलको अन्तिम रुजु गर्दैछौं’ उनले भने ‘केही उम्मेदवारको फाइल नमिलेकाले उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदासम्म उम्मेदवारको संख्या एकाध जना तलमाथि हुन सक्छ ।’
ठूला स्थानीय तह र उम्मेदवार
भूगोल र मतदाताको हिसावले जिल्लाको सबैभन्दा ठूलो स्थानीय तहको रुपमा रहेको लहान नगरपालिकामा दल र स्वतन्त्र गरी मेयरमा २०, उपमेयरमा छ, २४ वडाका लागि वडाध्यक्ष एक सय १४, खुला सदस्य एक सय ८०, महिला सदस्य ९२ र दलित महिला सदस्य ८५ गरी चार सय ९७ जनाको उम्मेदवारी परेको छ ।
दोस्रो ठूलो मतदाता संख्या रहेको सिरहा नगरपालिकामा मेयरका लागि २४, उपमेयर १०, वडाध्यक्ष एक सय ६१, खुला सदस्य दुई सय २६, महिला सदस्य एक सय १२ र दलित महिला सदस्य एक सय १० गरी छ सय ३७ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाताको आधारमा तेस्रो स्थानमा रहेको गोलबजार नगरपालिकामा जिल्लामै सबैभन्दा बढी मेयर पदका लागि २९, उपमेयर १६, १३ वटा वडाका लागि वडाध्यक्ष ९०, खुला सदस्य एक सय ३६, महिला सदस्य ६४ र दलित महिला सदस्य ६८ गरी चार सय दुई जनाको उम्मेदवारी परेको छ ।
जिल्लामा चौथो ठूलो संख्यामा मतदाता रहेको धनगढीमाई नगरपालिकामा मेयरका लागि १६, उपमेयर आठ, वडाध्यक्ष ७७, खुला सदस्य एक सय ३७, महिला सदस्य ६५ र दलित महिला ६७ गरी तीन सय ७० जनाको उम्मेदवारी परेको धनगढीमाई निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।