सिरहा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी ३० वैसाखमा हुने स्थानीय तहको निर्वाचन संविधानले दएको उपलब्धिको रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि लडाइँ भएको बताएका छन् ।
सिरहाको मिर्चैया नगरपालिका ६ मटियर्वामा निर्मित रामप्रताप साह स्मृतिद्वारको बिहीबार दिउँसो आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने ‘आगामी निर्वाचन अरुका लागि सामान्य निर्वाचन मात्र हो तर राष्ट्रिय एकताको रक्षा गर्दै थप उपलब्धिका लागि लड््ने, समानता, आत्मसम्मान, सामाजिक न्यायका लागि लड्ने माओवादी जस्ता क्रान्तिकारीहरुका लागि ठूलो लडाइँ हो ।’ उनले आगामी स्थानीय तहको निर्वाचनमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीताको रक्षासहित दलित महिला, आदिवासी जनजाती, मुस्लिम लगायत सबै उत्पीडित समुदायको थप अधिकारका लागि माओवादी केन्द्रलाई जिताउन आह्वान गरे ।
निशानामा माओवादी र प्रचण्ड
जनयुद्ध, १२ बुँदे समझदारी बिस्तृत शान्ति सम्झौता, संविधानसभाको निर्वाचन, राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, संविधान निर्माणसम्म आइपुग्दा आफूले ठूलो जोखिम र चुनौती उठाएको उल्लेख गर्दै उनले भने ‘त्यसको नेतृत्व गर्ने माओेवादी र प्रचण्डलाई निशाना बनाएका छन् ।’ मुलुकमा भएको परिवर्तन नरुचाउने हिजोका राजावादी, दक्षिणपन्थी, संविधान उल्ट्याउन खोज्नेहरु साँठगाँठ गर्ने कसरत गरिरहेको चर्चा गर्दै उनले भने ‘आगामी निर्वाचनमा जनताले त्यसको जवाफ दिनेछन् ।’
माओवादी केन्द्रले जित्दा राष्ट्र सुरक्षित रहने हार्दा राष्ट्र र संविधान नै दुर्घटनामा पर्ने खतरा रहेको औंल्याउँदै उनले हिजो अप्ठ्यारोमा आफूलाई साथ दिएर सिराहाका जनताले दोस्रो पटक प्रधानमन्त्री बनाए जसरी यो पटकको निर्वाचनमा पनि सहयोग गर्न आग्रह गरे । ‘मलाई राजनीतिक अप्ठ्यारो परेको बेला सिरहाका जनताले साथ दिएका थिए, म सधैं तपाइँहरुको हक अधिकार र न्यायको लागि लडिरहने छु’ उनले भने ।
विधेयक पारितसँगै नागरिकता
वर्षौंदेखि अनागरिक भएर बस्न बाध्य मधेस, पहाडका नागरिकताबाट बञ्चित भएकाहरुलाई नागरिकता विधेयक पारित गरी नागरिकता दिइने उनले बताए । ‘गत वर्षको प्रतिगमन विरोधी आन्दोलनमा बनेको पाँच दलीय गठबन्धनले नागरिकता अध्यादेश ल्याएर भएपनि नागरिकताको समस्या हल गर्ने प्रयास गरेको थियो तर अदालतले संसदमा बृहत् छलफल गरेर मात्र समस्याको हल खोज्नु भन्ने आदेश दिएकाले रोकिएको हो’ उनले भने ‘जसरी बजेट, १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसिसि पारित गरियो त्यसरी नै संसद खुल्ने बित्तिकै नागरिकता विधेयक पनि पारित गरेर नागरिकताको समस्या हल गर्छौं ।’
केपी ओली र एमालेले निरन्तर रुपमा संसद अवरोध गरिरहेकाले नागरिकता जस्तो गम्भिर विषयमा संसदमा छलफल हुन नसकेको तर संसद खुले लगत्तै अवरोध भएपनि विधेयक पारित गरी मधेस, पहाडका नागरिकता नभएकाहरुलाई नागरिकता दिइने उनको भनाइ थियो । पार्टीमा आफू अल्पमतमा परेपछि पार्टी बहुमत विरुद्ध ओलीले संसद विघटन गरी राजनीतिक अपराध गरेको उल्लेख गर्दै उनले भने ‘देशव्यापी रुपमा प्रतिगमन विरुद्ध जनता नजागेको भए ओलीले संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र गरेका थिए । त्यो षड्यन्त्र असफल भएपछि निरन्त र संसद् अवरोध गरी ओलीले जनताको अधिकारप्रति खेलवाड गरेको उनको आरोप थियो ।
सहिद र बेपत्ता योद्धाको सम्मान, परिवारलाई रोजगारी
‘जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन तथा सबै उत्पीडित समुदायको अधिकारका लागि भएका आन्दोलनमा भएका सहिद बेपत्ता योद्धाको सम्मान गर्न आफू र आफ्नो पार्टीसहित गठबन्धन समेत लागेको छ’ उनले भने ‘स्थानीय, प्रदेश र संघीय सरकारले पनि सहिद, बेपत्ता योद्धाको सम्मान, परिवारलाई राहत रोजगारी लागि कामको थालनी गरेको छ ।’
त्यसका लागि अर्थ मन्त्रालयले विशेष कार्यक्रम समेत बनाइसकेको चर्चा गर्दै उनले गठबन्धन सरकारले विभिन्न आन्दोलनका घाइतेको उपचार, राहतका लागि गरेको व्यवस्था कार्यान्वयनको प्रकृयामा रहेको बताए ।
अध्यक्ष प्रचण्डले बिहीबार नै मिर्चैया ५ स्थित ब्रम्हचारी दामोदरानन्द कलेजमा प्रदेश सभा सदस्य दिलिप साहको निर्वाचन क्षेत्र पूर्वाधार विकास कर्याक्रम अन्तर्गत निर्मित प्रवेशद्वारको उद्घाटनसँगै मिर्चैया २ मल्हनियाखोरीमा १५ शैय्याको अस्पतालको समेत शिलान्यास गरेका छन् ।