सिरहा । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको ११ लाख रुपैयाँभन्दा बढी रकमसहित शनिबार एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले ११ लाख दुई हजार नौ सय पचास रुपैयाँसहित ४४ वर्षीय दिलिप कुमार साहलाइ पक्राउ गरेको हो । स्रोत नखुलेको रकमसहित दक्षिणतिरबाट एक व्यक्ति आउँदै गरेको विशेष सूचनाको आधारमा महोत्तरीको बर्दिवासस्थित सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनी र सशस्त्र प्रहरी बल नं. ७ गण हेड क्वार्टर सिरहाबाट खटिएको संयुक्त टोलीले लहान नगरपालिका १ मटिअर्वाबाट भगवानपुर गाउँपालिका ४ घर भएका साहलाई पक्राउ गरेको हो ।
भारतीय सीमावर्ती क्षेत्र भगवानपुरबाट पछ्याउँदै आएको सशस्त्र प्रहरीको टोलीले लहानमा साहलाई नियन्त्रणमा लिई झोलामा लुकाएको आठ सय तीन थान एक हजार, चार सय वटा पाँच सय, नौ सय ९९ वटा सय र एक थान ५० रुपैयाँ दरको नोट बरामद भएको सशस्त्र प्रहीले जनाएको छ । रकमसहित पक्राउ गरिएका साहलाई आवश्यक अनुसान्धान तथा कारबाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइएको छ ।