सिरहा कांग्रेसमा चौधरी पक्षद्वारा समानान्तर जिल्ला समिति घोषणा

सिरहा । नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत सोमबार गोलबजारमा भएको निर्वाचनमा व्यापक धाँधली गरेको आरोप लगाउँदै सभापति पदका प्रत्यासी रामसुन्दर चौधरी पक्षले समानान्तर जिल्ला कार्य समिति घोषणा गरेको छ ।
जिल्ला सदरमुकाम सिरहास्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा बुधबार चौधरी पक्षका नेता कार्यकर्ताहरुको भेलाले सभापतिका प्रत्यासी चौधरीसहित सिंगो प्यानललाई नै समानान्तर जिल्ला कार्य समिति घोषणा गरेको हो । सभापति पदमा निर्वाचित रामचन्द्र यादवसहित प्यानललाई नै धाँधली गरेर जिताइएको भन्दै उनको नेतृत्वको कार्य समितिलाई नमान्ने भेलाले निर्णय गरेको छ ।
चौधरी नेतृत्वको असन्तुष्ट पक्षले प्रहरी प्रशासनको आडमा निर्वाचन समितिले सेटिङ्मा धाँधली गरेर निर्वाचन परिणाम घोषणा गरिएकाले आफूहरुले त्यसलाई अस्वीकार गर्दै निर्वाचन बदर गरी अर्को निर्वाचन गरिनु पर्ने माग गरेको छ । ‘मतदानमा धाँधली भएको विषयमा सोमबार साँझ नै नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिमा लिखित उजुरी पठाएको भएपनि बेवास्ता गरिएकाले समानान्तर जिल्ला कार्य समिति घोषणा गरिएको हो’ असन्तुष्ट पक्षले भनेको छ । असन्तुष्ट पक्षले मंगलबार साँझ लहानमा पत्रकार सम्मेलनमार्फत् आफूहरुले उठाएको मागको विषयमा केन्द्रीय निर्वाचन समिति र पार्टी नेतृत्वले बेवास्ता गरे समानान्तर जिल्ला समिति बनाउने चेतवानी दिएको थियो ।
सभापतिसहित यादवको बर्चश्व
सन्तुष्ट पक्षले सोमबार भएको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै मतदानसँगै भोलिपल्ट मंगलबार भएको मतगणना समेत बहिष्कार गरेको थियो । असन्तुष्ट पक्षको अनुपस्थितिमा गरिएको मतगणनामा यादव एक हजार चार सय २६ मतसहित सभापति पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार जिल्लाको १७ स्थानीय तहका दुई हजार छ सय ७० मतदातामध्ये दुई हजार चार सय ७३ जनाले मतदान गरेकामध्ये एक सय ६० मत बदर भएको थियो ।
मतदानकै दिनदेखि धाँधली भएको भन्दै मतदान र मतगणना बहिष्कार गरेको जिल्ला सभापति पदका अर्का प्रत्यासी रामसुन्दर चौधरीले आठ सय ८७ मत पाएको निर्वाचन समितिका अधिकृत संजीव लमाले बताए । चौधरी प्यानलले बहिष्कार गरेको भएपनि मंगलबार मध्यान्हदेखि थालिएको मतगणना अनुसार जिल्ला सभापतिसहित पदाधिकारी र सदस्यहरुमा पनि निवर्तमान सभापति प्यानलका उम्मेदवाहरु निर्वाचित भएको घोषणा गरिएको छ ।