मिर्चैयामा जग्गाधनी दर्ता प्रमाणपत्र पूर्जा वितरण

सिरहा । विशेष नापी कार्यालय मिर्चैयाले जग्गा नापीसहित कित्ताकाट र नक्सा समेत टुङ्ग्याएसँगै बुधबार नगर क्षेत्रका एक हजार जनालाई जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गरिएको छ ।
भूमि व्यास्था सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले मिर्चैया नगरपालिका २ मलहनियाखोरीमा आयोजित कार्यक्रममा जग्गाधनी पूर्जा वितरण गरेकी हुन् । जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले वर्षौंदेखिको हकभोग गरिरहेकाहरुले भोगिरहेको समस्या जग्गाधनी दर्ता प्रमाणपूर्जा पाएसँगै सधैंको लागि अन्त्य भएको बताईन् ।
‘हकभोग गरिहेको जग्गाको कानुनी स्वामित्व नहुँदा झेल्नु परेका समस्याहरुको अन्त्य भएको छ’ उनले भनिन् ‘जग्गाधनी दर्ता प्रमाणपूर्जाले हक हस्तान्तरण, किनबेच, बैंक वित्तीय संस्थामा धितो राखेर घरायसी समस्या टार्न सकिन्छ ।’
मन्त्रालयले जग्गाको नापी गर्न बाँकी रहेका गाउँब्लक जग्गाको दर्ता प्रमाणपूर्जा समेत बाँडिरहेको जानकारी दिंदै उनले मन्त्रालयमार्फत् भूमिहीन, सुुकुम्बासीहरुले भोग्दै आएको भूमिहीनताको समस्या हल गर्नेगरी काम भइरहेको बताईन् ।
हरवा चरवा बस्तीको अवलोकन
मिर्चैयामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणपछि मन्त्री श्रेष्ठ बरियारपट्टि गाउँपालिका ३ स्थित हरवा चरवाको बसोवास रहेको मुसहर बस्ती पुगेकी थिईन् । मन्त्रालयद्वारा गत पुसमा गठन भएको मुक्त कमैया, हलिया, कमलरी, हरवा चरवाको अध्ययन कार्यदलका संयोजक श्याम श्रेष्ठसहितका सदस्यहरुको समेत उपस्थिति रहेको बस्तीमा मन्त्री श्रेष्ठले कृषि मजदुरी गर्दै आएका हरवा चरवाको समस्याको बारेमा जानकारी लिएकी थिईन् ।


त्यसअघि कार्यदलले लहान नगरपालिका १५ ढोढना मेनहर्वाको मुसहर बस्तीका हरवा चरवाहरुसँग भेट गरी छलफल गरेको थियो । कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन २०५८ ले हरवा चरवालाई पनि कमैया श्रमिकका रुपमा परिभाषित गरेको भएपनि उनीहरुको समस्या सम्बोधन हुन सकेको छैन ।
विभिन्न गैरसरकारी संस्थाले गरेका अध्ययनका आधारमा मधेस प्रदेश अन्तर्गतका जिल्लाहरुमा करिब ७० हजार परिवार हरवा चरवा रहेको अनुमान गरिएको छ । कमैया श्रम गर्ने सम्बन्धी ऐन अनुसार कानुनले मुक्त गरे पनि हरवा चरवाहरुको मुक्ति र पुनःस्थापना हुन नसकेको हरवा चरवा अगुवाहरु बताउँछन् ।