राष्ट्रिय युवा संघद्वारा गोलबजारमा प्रदर्शन

सिरहा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सिरहाले स्थानीय तहको निर्वाचन घोषणासहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको राजीनामा माग्दै शनिबार गोलबजारमा जुलुश प्रदर्शन गरेको छ ।
युवा संघका नेता कार्यकर्ताहरुले अराजक मन्त्री रेणु यादव राजीनामा दे, स्थानीय तहको निर्वाचन घोषणा गर, पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धि खारेज गर, किसानलाई मल खाद दे, लिपुलेक कालापानी लिम्पियाधुरा हाम्रो हो लगायतका नारासहित जुलुश प्रदर्शन गरेका हुन् । स्थानीय शिव मन्दिर, क्याम्पस चोक, जनता नमूना मा.वि. हुँदै निस्किएको जुलुश गोलबजारको मुख्य चोकमा कोणसभामा परिणत भएको थियो ।
कोणसभामा युवा संघका मधेस प्रदेश इञ्चार्ज वैद्यनाथ साह, जिल्ला अध्यक्ष इन्द्रेस राउत लगायतका नेताहरुले आफूहरुको माग सम्बेधन नभए सशक्त सडक आन्दोलन गरिने चेतावनी दिए । कोणसभापछि मन्त्री यादवको पुतला दहन गरेर प्रदर्शनकारीहरु हिंडेपछि पुगेको प्रहरीले बाँकी रहेको आगो निभाएको थियो ।
५ माघमा रौतहटको गौरमा आयोजित बलिदानी दिवसमा सहभागी हुन पुगेकी मन्त्री यादवलाई सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले अवरोध गरेपछि गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ । ७ चैत २०६३ मा गौरमा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो ।