निकुञ्ज प्रभावितलाई वितरित राहत रकम सार्वजनिक

रसुवा । निकुञ्जका वन्यजन्तुको आक्रमणमा घाइते भएका व्यक्ति, पशु चौपाया तथा अन्नबाली क्षतिवापत् लाङ्टाङ् राष्ट्रिय निकुञ्जले स्थानीय प्रभाविवतलाई वितरण गरेको राहत रकम सार्वजनिक गरेको छ ।
निकुञ्जले आर्थिक वर्ष २०७७÷०७८ र २०७८÷०७९ को हालसम्म वन्यजन्तु प्रभावितहरुलाई ४८ लाख १६ हजार छ सय ५५ रूपैयाँ राहत प्रदान गरिएको जनाएको छ । निकुञ्जकी वन प्राविधिक सुलक्षा श्रेष्ठका अनुसार भालुको आक्रमणबाट घाइतेको उपचार खर्चवापत् सात लाख ९६ हजार छ सय ५५ रुपैयाँ, अन्नबाली क्षतितर्फ ३४ लाख २२ हजार तथा पाल्तु चौपाया नोक्सानीतर्फ पाँच लाख ९८ हजार रुपैयाँ प्रभावितहरुलाई प्रदान गरिएको छ ।
निकुञ्जका भालुको आक्रमणबाट विगतका वर्षमा दर्जनौ स्थानीय बासिन्दा घाइते हुने गरेको भएपनि वन्यजन्तुको आक्रमणबाट जोगिन पूर्व सावधानी अपनाउन सचेतनामूलक कार्यक्रम संचालन गरेपछि पछिल्लो डेढ वर्षको अवधिमा तीन जना मात्र घाइते भएको वन प्राविधिक श्रेष्ठले उल्लेख गरिन् । पछिल्लो डेढ वर्षको अवधिमा जंगली भालु तथा बँदेलले स्थानीय एक हजार एक ७६ जना किसानको अन्नबाली नोक्सान गरेको र चितुवाको आक्रमणबाट ६० भन्दा बढी चौपाया मरेको निकुञ्जले जनाएको छ ।
मानव तथा वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न वन जंगल र आवादी जमिनको सिमानामा तारबार लगाउने काम शुरु गरिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिए । ‘त्यसका लागि ७५ लाख रूपैयाँको लागतमा रसुवाको राम्चे तथा यार्सा, नुवाकोटको तादी गाउँपालिका २ चिलाउने गाउँ क्षेत्रमा तारबार लगाउन थालिएको छ’ संरक्षण अधिकृत यादवले भने ।