सिरहा । जिल्लाको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेका लहानमा नेकपा एमालेको १० औं जिल्ला अधिवेशन अन्तर्गत आइतबार राती स्थगित गरिएको बन्द सत्र सोमबार बिहानदेखि शुरु भएको छ ।
एमाले महासचिव शंकर पोखरेलद्वारा लहान नगरको सभाकक्षमा आइतबार दिउँसो उद्घाटन सत्रपछि स्थानीय मारवाडी सेवा सदनमा संचालन गरिएको बन्द सत्रले राजनीतिक, सांगठनिक, आर्थिक प्रतिवेदन पारित गर्नुका साथै नेतृत्व चयनका लागि तयारी थालिएको निवर्तमान जिल्ला कमिटी अध्यक्ष चन्डेश्वर मण्डलले बताए ।
अध्यक्ष मण्डल, निर्वाचन कमिटी गठन
निवर्तमान जिल्ला कमिटी अध्यक्ष मण्डलका अनुसार आइतबार रातीको बन्द सत्रले एमालेका केन्द्रीय कमिटी सदस्य गंगाप्रसाद यादवको अध्यक्षतामा सात सदस्यीय अध्यक्ष मण्डल गठन गरेको थियो । अध्यक्ष मण्डलको प्रस्ताव अनुसार निवर्तमान जिल्ला कमिटीका अध्यक्षका हैसियतले बन्द सत्रमा प्रस्तुत राजनीतिक, सांगठनिक, आर्थिक प्रतिवेदन पारित भएको मण्डलले उल्लेख गरे ।
अध्यक्ष मण्डलमा केन्द्रीय कमिटी सदस्यद्वय रामरती राम, रामप्रित राम, प्रदेश २ का अध्यक्ष रामऔतार यादव, प्रदेश कमिटी सदस्य रामविलास यादव, पार्टीका निवर्तमान जिल्ला अध्यक्ष मण्डल जिल्ला सचिव डा. नविन यादव सदस्य छन् ।
बन्द सत्रमा सर्वसम्मत नेतृत्वका लागि प्रयास गरिरहेको जानकारी दिंदै निर्वाचनमार्फत् जिल्ला कमिटी चयन गर्ने अवस्था आएको खण्डमा लोकतान्त्रिक र स्वस्थ्य प्रतिस्पर्धा गराउन सात सदस्यीय निर्वाचन कमिटी समत गठन गरिएको छ । सर्वसम्मत नभए नयाँ जिल्ला नेतृत्व चयनका लागि सोमबार दिउँसोदेखि प्रकृया थालिने निर्वाचन कमिटीका प्रमुख अधिवक्ता रोशन लामाले बताए । बन्द सत्रमा रामस्वरुप सदाको संयोजकत्वमा तीन सदस्यीय माइन्युट लेखन तथा बहस नोट समिटी समेत गठन भएको जनाइएको छ ।
एमाले सिरहाको जिल्ला अधिवेशन आइतबार प्रदेश २ का इञ्चार्ज रघुवीर महासेठ, सहइञ्चार्ज प्रभु साह, प्रतिनिधिसभा सदस्य तथा सिरहा जिल्ला इञ्चार्ज लिलानाथ श्रेष्ठ लगायतका नेताहरुको उपस्थितिमा महसचिव शंकर पोखरेलले गरेका थिए ।