धनुषा । जातीय छुवाछूत र विभेद कानुनी रुपले बन्देज हुँदाहुँदै जीवित छँदा कथित उपल्लो जातीको अवहेलना झेलेर बाँचेकी धनुषाकी एक बृद्धा मृत्यु हुँदा समेत जातीय विभेदको शिकार बन्नु पर्यो । मृतकको सम्बन्धित परिवार र आफन्तले जातीय संस्कार अनुसार दाहसंस्कार गर्ने भएपनि बृद्धाले दोस्रो विवाह गरी सामाजिक कानुन उल्लंघन गरेको भन्दै २४ घण्टासम्म स्थानीय समाजले शव उठाएन दिएनन् ।
पूर्वी धनुषाको सबैला नगरपालिकाक १२ रघुनाथपुरकी करिब ७१ वर्षीया सुनैनादेवी दासको सोमबार दिउँसो निधन भएपनि स्थानीय समाजले शव उठाउन अवरोध गरेपछि दलित अधिकारकर्मीहरुको सहजीकरणमा भोलिपल्ट मात्र दाहसंस्कार गरिएको हो । रघुनाथपुरस्थित नहर टोलमा रहेको घरमा मृत्यु भएकी दासको दाहसंस्कारका लागि स्थानीय संचारकर्मी जितेन्द्रकुमार राम, दलित अभियानकर्ता मनोज पासवान, हेल्प मधेसीका केन्द्रीय अध्यक्ष रामउद्गार यादव लगायतले सहजीकरण गरेपछि दाहसंस्कार गरिएको हो ।
पाँच धुर घडेरीको बार्गेनिङ् !
गाउँलेहरु मृतकको नाममा रहेको पाँच धुर घडेरी स्थानीय समाजको हकभोग हुनेगरी कागज गरिदिए मात्र दाहसंस्कारका लागि शव उठाउन दिने अडानमा रहेकाले २४ घण्टासम्म शव घरमै राख्न बाध्य भएको स्थानीय शंकर महराले गुनासो गरे ।
श्रीमानको निधन भएपछि करिब १२ वर्ष पहिले दासले स्थानीय करिब ६५ वर्षीय विदुर चन्देश्वर ठाकुरसँग दोस्रो विवाह गरेपछि स्थानीय समाज चिढिएको मृतकका आफन्त बताउँछन् । गाउँमै दोस्रो विवाह गरेपछि बृद्धाकहाँ बेला बेलामा ठाकुरपट्टिका समेत छोरा बुहारी, छोरी ज्वाइँको आवतजावत चलिरहेको थियो । बृद्धाको मृत्युपछि जातीय संस्कार अनुसार दाहसंस्कार गर्न खोज्दा स्थानीय समाजले अवरोध गरेको मृतककी बुहारी सीतादवी दासले गुनासो गरिन् ।