सिरहा । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका १ रामपुर पिप्रा क्षेत्रका भूमिहीन, सुकुम्बासी, हरवा चरवाहरुले सडक बिस्तारको नाममा बिना बिकल्प आफूहरुको उठीबास गराएको भन्दै प्रदर्शनसहित उठीबास रोक्न पाँच बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका छन् ।
स्तरोन्नतिको क्रममा रहेको पोखरभिण्डा, कर्चीबारी, पर्सा, खरुकियाही सडक क्षेत्रमा परेको भन्दै दर्जनौ गरिब, दलित, भूमिहीन सुकुम्बासी, हरवा चरवाको उठीबास गराउन थालिएपछि त्यसलाई रोक्न प्रदर्शन गर्दै पाँच बुँदे मागसहितको ज्ञापन पत्र बुझाइएको हो । जिल्ला हरवा चरवा अधिकार मञ्च, गाउँपालिका स्तरीय हरवा चरवा अधिकार मञ्चले बिहीबार गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुर र १ नं. वडाध्यक्ष परशुराम मण्डललाई छुट्टाछुट्टै रुपमा उठीबास रोक्न ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापन पत्रमा सडक बिस्तारको नाममा वर्षौंदेखि बस्दै आएको ठाउँबाट बिस्थापन रोक्नु पर्ने, हरवा चरवा, भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीको सुरक्षित बसोवासका लागि भरपर्दो व्यवस्था गरिनु पर्ने माग गरिएको छ ।
त्यस्तै, राष्ट्रिय भूमि आयोगसँग तत्काल सम्झौता र समन्वय गरी दलित, भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीको जग्गा प्राप्तिको प्रकृया अगाडि बढाइनु पर्ने, दलित, भूमिहीन, हरवा चरवा बस्तीमा सडक बिस्तार गर्दा मापदण्डको विषयमा ध्यान दिइनु पर्ने, घर भत्काइएका हरवा चरवा दलितहरुलाई क्षतिपूर्तिसहित पालिकामार्फत् बसोवासको व्यवस्था गरिनु पर्ने ज्ञापन पत्रमा माग गरिएको छ ।
ज्ञापन पत्रमा नेपालको संविधान २०७२ मा एक पल्टलाई जग्गाविहीनलाई जग्गा र आवासविहीनलाई आवास दिने व्यवस्था, स्थानीय सरकार संचालन ऐन २०७४ मा समेत आफ्नो स्थानीय तहको सीमाभित्र रहेका भूमिहीन, सुुकुम्बासीहरुको लगत संकलन गरी एकीकृत व्यवस्थापन गर्ने व्यवस्था रहेकोतर्फ ध्यानाकर्षण गराउँदै भनिएको छ ‘राष्ट्रिय भूमि आयोगसँग समन्वय गरी भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको जग्गा प्राप्तिका लागि तत्काल प्रकृया अगाडि बढाउन पहल गरिदिनु हुन आग्रह गर्दछौं ।’
भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जगाधनी प्रमाणपूर्जा दिएर स्थायी र सुरक्षित बसोवास गराउने, जोखिमयुक्त र असुरक्षित बसोवास गरिरहेकाहरुलाई गाउँपालिकाको उपयुक्त ठाउँमा स्थानान्तरण गरिने प्रतिबद्धता कार्यान्वयनको आग्रह गर्दै आफूहरुको सुरक्षित बसोवासका लागि उनीहरुले माग गरेका छन् ।
‘असुरक्षित रुपले बसोवास गर्नु अपराध हो ?’
झुपडी ठड्याउने जग्गा नपाएपछि सडक किनारमा असुरक्षित रुपले बस्नु आफूहरुको रहर नभई बाध्यता रहेको लक्ष्मीपुर पतारी १ पिप्रा गाउँका करिब ५५ वर्षीय मो. रसुलले गुनासो गरे । ‘सडक बिस्तारको नाममा भएको झुपडी पनि भत्काइ दिए’ उनले भने ‘आफू, श्रीमती र सात बहिनी छोरीलाई कहाँ, कसरी राख्ने भन्ने चिन्ताले पिरोलिएको छु ।’ उनकै छिमेकी ४३ वर्षीय राजकुमार मण्डलका अनुसार कच्ची घरको आधा भन्दा बढी भाग सडक बिस्तारको क्रममा भत्काईएपछि समस्यामा परेको बताए ।
‘ओत लाग्ने झुपडी नै नरहेपछि जहान, बालबच्चा, घरमा रहेका बृद्ध बृद्धालाई लिएर कहाँ जाने ?’ उनले भने ‘इँटा भट्टा, गाउँघरमा कृषि मजदूरी गरेर हातमुख जोड्दै आएका हाम्रो आफ्नै स्वामित्वको जग्गा नहँुदा असुरक्षित रुपले बसोवास गर्नु हाम्रो अपराध हो र ?’