सिरहा । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार हुने मतदानका लागि कायम गरिएका मतदान स्थलको सुरक्षा संवेदनशीलताको आधारमा बिहीबार बिहान जिल्लाका विभिन्न मतदान स्थलहरुमा तालिम प्राप्त कुकुर परिचालन गरी निरीक्षण गरिएको छ ।
जनकपुरस्थित मधेश प्रदेश प्रहरी कार्यालय ल्याइएको तालिम प्राप्त कुकुर र सम्बन्धित इलाकामा पर्ने प्रहरी युनिट इञ्चार्जसहितको टोलीले सिराहाको मिर्चैया, गोलबजार, धनगढी, कसाहा, लहानमा पर्ने अति संवेदनशील मानिएका मतदान स्थलको निरीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीले बताए । टोलीले लहान बजारको सहिद चोक नजिकको सडकमा समेत कुकुर परिचालन गरी निरीक्षण गरेको छ ।
प्रहरी नायव उपरीक्षक बुढाथोकीका अनुसार शुक्रबार बिहानदेखि हुने मतदानका लागि जिल्ला सुरक्षा समितिले अति संवेदनशील मतदान स्थलको रुपमा कायम गरेका एक सय ७० मध्ये बिहीबार दिनभर हरेक स्थानीय तहका कम्तिमा एउटा मतदान स्थल पर्नेगरी नमूनाको रुपमा निरीक्षण गरिने बताए । जिल्ला सुरक्षा समितिले विगतमा निर्वाचन बिथोलिएका, झडप भएका र अन्य भूमिगत समूहका सुरक्षा थ्रेट रहेका मतदानस्थलहरुलाई अति संवेदनशील मतदान स्थलको रुपमा सूचीकृत गरी त्यही अनुसार सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।
स्थानीय तह निर्वाचनका लागि दुई सय २१ मतदान स्थल अन्तर्गत चार सय ९८ मतदान केन्द्र तोकिएको सिराहामा अति संवेदनशील एक सय ७०, ४६ संवेदनशील र पाँच वटा मतदानस्थल सामान्य सूचीमा रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
सिराहाको आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहमा दुई लाख १९ हजार पाँच सय ६४ पुरुष र एक लाख ९४ हजार छ सय महिला तथा दुई तेस्रो लिंगी गरी चार लाख १४ हजार एक सय ६६ मतदाता छन् ।