सिरहा । भूगोल र मतदाताको हिसावले जिल्लाकै मुख्य मानिने लहान नगरपालिकामा पाँच दलीय गठबन्धनका तीन दलले संयुक्त प्रतिबद्धता पत्रमार्फत् बिपन्नलाई एम्बुलेन्स सेवादेखि गर्भवती सुत्केरीलाई पोषणका लागि नगद सहयोग गर्ने घोषणा गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपालले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नगर क्षेत्रका गर्भवतीलाई पोषण भत्ता १० हजार र एकल महिलालाई जीवन निर्वाहका लागि वार्षिक रुपमा पाँच हजार रुपैयाँ उपलब्ध गराउने जनाएका छन् । प्रतिबद्धता पत्रमा नगरको २४ वटै वडा क्षेत्रका गरिब बिपन्नलाई उपचारका लागि स्वास्थ्य संस्थासम्म आउन जान निःशुल्क एम्बुलेन्स सेवासहित क्यान्सर, मस्तिष्कघात, मुटुको शल्यक्रियाका लागि एक लाख रुपैयाँसम्म आर्थिक सहयोग गर्ने उल्लेख गरिएको छ ।
निःशुल्क स्वास्थ्य बीमा, बाली बीमामा अनुदान
प्रतिबद्धता पत्रमा लहानको मुख्य बजार क्षेत्रमा वर्षौंदेखिको समस्याको रुपमा रहेको बहाल विटौरी, गाउँ ब्लक र टाउन प्लानिङ्को समाधान गर्नेदेखि व्यवसायिक करमा ५० प्रतिशत छुट दिने उल्लेख छ । नगर क्षेत्रका दलित तथा बिपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्नेदेखि खेत खेतमा पोलिङ् गरी सिंचाइका लागि निःशुल्क बिजुली, अन्न बाली, पशु, माछापालन, फलफूल खेती बीमा गर्न सरकारले दिंदै आएको अनुदानमा नगरले २० प्रतिशत थप गरिदिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
सिंचाईको अभाव र विपद्का कारणले उत्पादन नहुँदा स्थानीय भूमिकर मिनाहा गर्ने, नगरमा छुट्टै कोष खडागरी किसानलाई खेती गर्ने सिजनमा २५ हजारदेखि एक लाख रुपैयाँसम्म सापटी रकमको व्यवस्था गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
हरेक वर्ष गरिबका लागि एक सय घर निर्माण
नगर क्षेत्रका २४ वटा वडा क्षेत्रमा बसोवास गरिरहेका अति बिपन्नहरुका लागि हरेक वर्ष वडापिच्छे एक सय घर निर्माण गरी हस्तान्तरण गरिने, फुसको छानो भएका घरलाई नगरले आफ्नै लगानीमा जस्ता हाल्दिने प्रतिबद्धता पत्रमार्फत् घोषणा गरिएको छ ।
‘लहान बजार भरिमा भूमिगत नाला निर्माण गरिने प्रतिबद्धता पत्रमा जनाइएको छ । हरेक वर्ष हरेक वडामा ५÷५ किलोमिटर पक्की सडक निर्माण गर्नेदेखि लहान बजार क्षेत्रमा सबैलाई पायक पर्ने गरी लहान सभागृह तथा २० हजार दर्शक अट्ने रंगशाला निर्माण गरिने संयुक्त प्रतिबद्धता पत्रमा उल्लेख छ ।
कुल ५६ हजार एक सय ९५ मतदाता रहेको नगरमा पछिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट जितेका निवर्तमान मेयर मुनि साह सुडी पुनः एमालेबाट मेयर पदमा उठेपछि कांग्रेस, माओवादी र जसपाले गठबन्धन गरी चुनावी अभियान तीब्र बनाएका छन् । नगरको २४ वडामध्ये पार्टीको सांगठनिक हैसियत अनुसार वडा तहमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तीन दलले वडामा आ–आफ्नोे उम्मेदवार उठाए पनि मुख्य पदमा संयुक्त उम्मेदवारी परेको छ ।
यस्तो छ लहानको चुनावी गणित
कोरोना महामारीको समयमा व्यक्तिगत र सहृदयीहरुले दिएको खाद्यान्न सामग्री नगरका प्रायः हरेक गरिब, बिपन्न र दलितहरुको घर घर बाँडेर सबैको मन जितेका समाजसेवी महेशप्रसाद चौधरीलाई कांग्रेसले मेयर पदमा उठाएको छ भने उपमेयरमा जसपाले युवा नेता रामचरित्र महतोलाई उठाएको छ । एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीले व्यवसायीद्वय विनोदकुमार साह र कंचन चौधरीलाई क्रमशः मेयर र उपमेयरमा उम्मेदवार बनाएकाले एमालेकै भोट काटिने, कांग्रेस, माओवादी केन्द्र र जसपाको भोट एक ठाउँमा खस्दा गठबन्धनका उम्मेदवार बलियो रहेको राजनीतिक विश्लेषक डा. विजय प्रसाद मिश्र बताउँछन् ।
पछिल्लो स्थानीय तहको निर्वाचनमा मेयर साहले ११ हजार तीन सय सात, निकटतम् प्रतिद्वन्द्वी रहेका कांग्रेसले नौ हजार एक सय ३८, तत्कालीन संघीय समाजवादी फोरमले पाँच हजार सात सय ३७, माओवादी केन्द्रले दुई हजार चार सय ९६ मत ल्याएको थियो ।
राप्रपाबाट मयेरमा उठेका लगनलाल चौधरी प्रदेश सभा निर्वाचनमा एमाले प्रवेश गरेपछि उनले ल्याएको चार हजार चार सय ६५ मत सबै एमालेतिर नजाने, एकीकृत समाजवादीले काट्ने भोट र राप्रपाले पनि आफ्नै मेयर उठाएकाले यो पल्ट गठबन्धनका बलिया उम्मेदवार मानिएका छन् ।