सिरहा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लहान नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको बिहीबार सपथग्रहणसहित प्रशिक्षणात्मक कार्यक्रम गरिएको छ ।
माओवादी केन्द्रको नगर समितिद्वारा लहान ११ पडरियास्थित श्रृजना सामुदायिक पुस्तकालयको सभाकक्षमा आयोजित सपथग्रहण तथा प्रशिक्षणत्मक कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेश इञ्चार्ज गणेश साहले क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुको जीवन पद्धति र व्यवहार मिल्नु पर्ने औंल्याए । औपचारिक कार्यक्रममा नेताहरुलाई सम्मान गर्न खर्च हुने माला, खादा लगायतको रकम सामुदायिक हितका लािग उपयोग गरिनु पर्नेमा जोड दिंदै इञ्चार्ज साहले कम्युनिष्ट कार्यकर्ताहरु जहिले पनि जनताप्रति उत्तरदायी र पारदर्शी हुनु पर्ने उल्लेख गरे ।
‘माक्र्सवाद, लेनिनवाद र माओवाद सिद्धान्त, संगठन र संघर्ष हो’ उनले भने ‘क्रान्तिकारी कम्युनिष्टहरु राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकताप्रति असाध्यै संवेदनशील हुने भएकाले पछिल्लो समय माओवादी केन्द्रले एमसिसि संशोधन बिना पारित गर्नु हुँदैन भन्ने अडान लिएको हो ।’ कम्युनिष्टहरु श्रमिक र किसानका पक्षमा लड्ने भौतिकवादी अग्रदस्ता भएकाले जनतासँग जोडिएर काम गर्नुपर्नेमा उनको जोड थियो ।
माओवादी केन्द्रका मधेस प्रदेश सह इञ्चार्ज विश्वनाथ साहले संगठन परिचालनका लागि गरिने बैठकमार्फत् स्थानीय जनताको समस्यामा केन्द्रित रहेको कार्ययोजना बनाएर कार्यान्वयन गर्दा संगठन सुदृढीकरणसँगै बिस्तार हुने भएकाले त्यसमा ध्यान दिन आग्रह गरे । ‘पार्टीभित्र पनि सामाजिक विकृति विसंगतिलाई संरक्षण गर्नेहरु छन् भने अन्तरसंघर्ष गर्नुपर्छ’ सहइञ्चार्ज साहले भने ‘आलोचना र आत्मालोचना गरी छलफलमा स्वतन्त्रता र पार्टीको काम कारबाहीमा एक रुपता कायम गरिनु पर्छ ।’ त्यसको आधारमा सामूहिक निर्णय गरी व्यक्तिगत जिम्मेबारी अनुसार पार्टी संगठनको गतिविधि अगाडि बढाउनु पर्नेमा उनको जोड थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्र सिरहाका अध्यक्ष तथा मधेस प्रदेशसभा सदस्य रामकुमार यादवले पार्टीलाई वर्ग संघर्ष हाँक्ने संयन्त्र बनाउनु पर्ने औंल्याए भने अर्का प्रदेशसभा सदस्य जगतप्रसाद यादवले लहान नगर क्षेत्रमा मौलाउँदै भएको भ्रष्टाचार, विकास निर्माणमा विभेद जस्ता विषय केन्द्रित रहेर पार्टी नगर समितिले आवधिक योजनामार्फत् काम गर्न सुझाए ।
धनगढीमाई नगरका प्रमुख तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिनारायण चौधरीले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक जस्ता एजेण्डाहरु आफ्नो पार्टीको रहेको चर्चा गर्दै त्यसको संस्थागत विकासका लागि आगामी निर्वाचनमा पार्टीका उम्मेदवारहरुले जित्नै पर्ने भएकाले त्यस अनुसार योजना बनाएर पार्टी गतिविधि गर्नुपर्ने सुझाव दिए ।
पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य खड्गनारायण चौधरी, केन्द्रीय सदस्य श्रवणकुमार यादव लगायतको उपस्थिति रहेको कार्यक्रममा मधेस प्रदेश इञ्चार्ज र सह इञ्चार्जद्वयले पछिल्लो नगर सम्मेलनबाट निर्वाचित नगर अध्यक्ष हेमन्त यादव, सचिव उमेश साह लगायत नगरका पदाधिकारीहरुलाई सपथ गराउनुका साथै प्रमाणपत्र वितरण गरेका थिए ।