हानिकारक अभ्यास सम्बन्धी अन्तरक्रिया

सप्तरी । समाजमा हुने हानिकारक परम्परागत अभ्यासलाई अन्त्य गर्न आफैबाट सुरु गर्नु पर्नेमा जोड दिइएको छ । राष्ट्रिय महिला आयोगको आयोजना र इन्सेकको संयोजनमा बुधबार सप्तरीको जिल्ला सदरमुकाम राजविराजमा आयोजित ‘समाजमा विद्यमान हानिकारक परम्परागत अभ्यास’ सम्बन्धी अन्तरक्रियामा सहभागीहरुले आफैंर आफ्नो घरबाट थालनी गरे हानिकारक परम्परागत अभ्यास अन्त्य हुने बताए ।
कार्यक्रमकी अध्यक्ष तथा आयोगकी सदस्य जया घिमिरेले सबैको मन मष्तिष्कमा हिंसा नगर्ने, नगराउने सोंच र कसैले गरेमा प्रतिवाद गर्ने र पीडितको पक्षमा वकालत गर्ने क्षमता विकास गर्न जरुरी रहेको बताइन् । ‘सामाजिक रुपान्तरणका साथै राजनीतिक प्रतिबद्धता, सुझबुझपूर्ण राजनीतिक नेतृत्व र सही सोंचबाट संचालित रुपान्तरणमुखी साझा अभियानका माध्यमबाट मात्र हानिकारक परम्परागत अभ्यासहरूको अन्त्य हुन सक्छ’ घिमिरेले भनिन् ।
अन्तरक्रियामा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले महिला पुरुष समान हुन् र समाजमा भएका हानिकारक अभ्यासलाई अन्त्य गर्नु पर्छ भन्ने लागेपनि परम्परादेखिको मान्यता अन्त्य गर्न समय लागेको बताए । हानिकारक अभ्यासका लागि महिला पुरुष सबै दोषी रहेको औंल्याउँदै यादवले त्यसको अन्त्यका लागि सबैको भूमिका आवश्यक रहने उल्लेख गरे ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सरकारी सेवा, सम्पत्ति र राजनीतिमा महिलाको पहुँच बढ्दै गएको र विभेदका धेरै कानूनहरू हटदै गएको चर्चा गर्दै भने ‘समाजले अंगिकार नगरुञ्जेल कानून कार्यान्वयनमा समेत जटिलता आउने भएकाले हानिकारक मान्यता हटाउन शिक्षा, चेतना अभिबृद्धिमा जोड दिइनु पर्छ ।’
मानसिकता र व्यवहारमा परिवर्तन
अन्तरक्रियामा इन्सेक प्रतिनिधि मनोहर पोखरेलले ‘हानिकारक अभ्यास र जिल्लाको अवस्था ः सरोकारवालाको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै संरचनागत विभेद नै हिंसाको कारक रहेकोले नकारात्मक मानसिकता र व्यवहार परिवर्तन गर्नुपर्ने औंल्याए । जिल्लामा हिंसाको अवस्था सम्बन्धी तथ्यांक प्रस्तुत गर्दै पोखरेलले पहिलेका पुस्ताले जे भोग्यो त्यही भोग्नुलाई कर्मको फल ठानेर हिंसालाई स्वभाविक मान्ने महिला र अधिकार ठानेर हिंसा गर्ने महिला, पुरुष सबै जिम्मेवार रहेको बताए ।
‘हिंसा गर्दिन, हिंसा सहन्न र हिंसा भएको देखेमा प्रतिवाद गर्छु भन्ने प्रतिबद्धता आवश्यक छ’ उनले भने ‘हिंसाका घटनामा संलग्नलाई राजनीतिक संरक्षण नगरी कानून बमोजिम हदैसम्मको कारबाही गराउन सबैको पहल आवश्यक रहुन्छ ।’
राजविराज नगरकी उपप्रमुख साधना झा, आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, जिल्ला बार इकाईका अध्यक्ष डोमन साह, आदिवासी जनजाती महासंघका अध्यक्ष बृजमन तामाङ्, गैसस महासंघ तथा सगरमाथा अपाङ्ग कल्याण संघका अध्यक्ष बलदेव मण्डल, पत्रकार, अधिवक्ता, अधिकारकर्मी नरेन्द्रनारायण साहुलगायतले समाजमा परम्परागत रुपमा चल्दै आएको हानिकारक अभ्यासका कारण हुने विभेदले समाजमा पारेको असर, निम्त्याएको घरेलु हिंसा, बलात्कार, बालबिवाह, बहुविवाहले पार्ने असर लगायतका बारेमा आ–आफ्नो धारणा राखेका थिए । अन्तरक्रियामा सहभागीहरूले हिंसा विरुद्धको साझा प्रतिबद्धतामा हस्ताक्षर गरी प्रतिबद्धता जनाएका थिए ।