
सिरहा । प्रहरी हुँ भन्दै सर्वसाधारणलाई धम्क्याई रहेकै बेला नक्कली पेस्तोल, लागूऔषध लगायतका सामग्रीसहित पक्राउ परेका व्यक्ति विरुद्ध सिरहा प्रहरीले लागूऔषधको मुद्दा चलाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका ७ स्थित युवराज डिलक्स बसको काउण्टरमा २१ माघमा धम्क्याउँदै गरेका बेला पक्राउ परेका झापा गौरादह नगरपालिका १ घर भई काठमाडौं महानगरपालिका ४ मण्डिखाटार बस्ने करिब ३२ वर्षीय अशिम गुरुङ् विरुद्ध लागूऔषधको मुद्दा चलाइएको हो । पक्राउ परेका गुरुङ्माथि थप अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट पाँच दिनको समय थप गरिएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीले बताए ।
प्रहरी नायव उपरीक्षक बुढाथोकीका अनुसार बस काउण्टरमा धम्क्याउँदै गरेका बेला पुगेको सिरहा प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाको टोलीले गुरुङ्लाई नियन्त्रणमा लिई झोलाको खानतलासी गर्दा नाइट्राभेट १० लेखिएको ३९ ट्याब्लेट, स्पास्मो प्रोक्सिभोन प्लस ट्याब्लेट २२ थान बरामद भएको हो । गुरुङ्को झोलामा प्रहरी निरीक्षक अशिम गुरुङ लेखिएको नेपाल प्रहरीको नक्कली परिचय पत्र, एक थान नक्कली रिभल्वर, रिभल्वर राख्ने एक थान होलस्टर, एक थान ड्याइगन चक्कु, दुई थान मोवाइल, चेकबुक, नागरिकताको फोटोकपी लगायत तीन हजार रुपैयाँ नगद, एनसेलको तीन थान सिम समेत बरामद भएपछि पक्राउ गरी मुद्दा चलाइएको उनले बताए ।