प्रजिअसहितको टोलीद्वारा कर्णाली कोरिडोर अनुगमन

कालिकोट । विशेष परिस्थितिको सडकको रुपमा परिभाषित गरिएको कर्णाली करिडोरको कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकायका प्रमुख र प्राविधिकहरुको संयुक्त टोलीले अनुगमन गरेको छ ।
प्रजिअ रामहरि शर्माको नेतृत्वमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपाने, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक राम बहादुर पाल, खुलालु हुम्ला सडक कार्यालयका साइट इञ्जिनियर, ठेकेदार कम्पनीका प्रतिनिधि, पत्रकारहरुको टोलीले मंगलबार अनुगमन गरेको हो । टोलीले कर्णाली करिडोर शुरु हुने कालिकोटको नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि थिर्पु खण्डको अनुगमन गरेको हो । अनुगमनको क्रममा प्रजिअ शर्माले गुणस्तरीय काम तोकिएको समयमा सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिए ।
वि.सं. २०४८ सालमा शिलान्यास गरिएको कर्णाली करिडोर क्षेत्रमा विकट भौगोलिक बनावट, मौसमी प्रतिकूलता, कडा चट्टानको भूबनोट लगायतको कारणले ६ चैत २०७१ मा बसेको मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थितिको सडकको रुपमा परिभाषित गर्दै सडको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिएपछि सेनाले काम गर्दै आएको छ ।
कालिकोटको खुलालुदेखि हुम्लाको सार्केगाडसम्मको एक सय ९६ किलोमिटरमध्ये सेनाले एक सय २३ किलोमिटर खण्डको ट्रयाक खोल्ने जिम्मा पाएको छ । कर्णाली करिडोर अन्तर्गत कालिकोटमा ४०, बाजुरमा ४४ र हुम्लामा ३९ किलोमिटर खण्डमा सेनाले ट्रयाक खोल्ने काम गरेको छ ।