विश्व क्यान्सर दिवस, क्यान्स केयर सेन्टरमा प्रयोगशाला स्थापना

सिरहा । ‘उपचारको खाडल बन्द गराउ’ भन्ने नारासहित विश्वभर मनाइने विश्व क्यान्सर दिवसको अवसरमा शुक्रबार सिरहाको लहान नगरपालिका ७ मा संचालित क्यान्सर केयर सेन्टरमा प्रयोगशाला स्थापना गरिएको छ ।
मधेस प्रदेश सभा सदस्य लगनलाल चौधरीले रिवन काटेर प्रयोगशालाको विधिवत् उद्घाटन गर्दै क्यान्सरको सर्वसुलभ उपचारका लागि लहानमा क्यान्सर अस्पताल खोल्न आफूले निरन्तर प्रयास गरिरहेको भएपनि प्रदेश सरकारले चासो नदिएको गुनासो गरे । लहानमा क्यान्सर अस्पताल स्थापनाका लागि आफूले पछिल्लो दुई वर्षदेखि संसद्मा कुरा उठाउँदै आएको भएपनि प्रदेश सरकारले चासो नदिएको प्रदेश सभा सदस्य चौधरीले गुनासो गरे ।
‘प्रदेश सरकारले बहुसंख्यक जनतालाई फाइदा हुने कामभन्दा पनि सीमित कार्यकर्तालाई पोस्ने गरी पोखरी सौन्दर्यकरण, मठ मन्दिर निर्माण जस्ता अनुत्पादक काममा मात्र करोडौं रकम खर्च गरिरहेको छ’ उनले भने । प्रदेश सरकारले बेवास्ता गरेपनि क्यान्सर रोगको जाँच, पहिचान, परामर्श, उपचारका लागि सेन्टरले गरिरहेको निरन्तर प्रयास सह्रानीय रहेको उल्लेख गर्दै उनले भने ‘लहानमा सुविधा सम्पन्न क्यान्सर अस्पताल निर्माणका लागि सबैले मिलेर काम गरौं ।’
प्रयोगशालाबाट स्तरीय सेवा
क्यान्सर दिवसको अवसर पारेर सेन्टरले रगत जाँच गर्ने सिबीसी, सोडियम पोटासियम एनालाइजर, सेमि केमेस्ट्री एनालाइजर, माइक्रोस्कोप, माइक्रोपिपेट, इन्कुवेटर लगायत ११ किसिमका प्रयोगशाला सम्बन्धी उपकरणसहितको प्रयोगशाला संचालन गरेको हो ।
प्रयोगशाला संचालनका लागि आएका भक्तपुर क्यान्सर अस्पतालका सिनियर मेडिकल ल्याव प्राविधिक अविनाश कर्णले प्रयोगशालामा जडान गरिएका स्वचालित र अद्र्ध स्वचालित उपकरणबाट दुई मिनेटदेखि बढीमा दुई घण्टासम्म नतिजा थाहा पाउन सकिने बताए । रोगको उपचारका लागि प्रयोेगशाला र रेडियोलोजी अभिन्न अंग रहेको चर्चा गर्दै उनले प्रयोगशालामा सुलभ मूल्यमा रगतको सम्पूर्ण जाँच, रगतमा सोडिम पोटासियम जाँच, मुटु, कलेजो, मृगौला सम्बन्धी पनि जाँच हुने बताए ।


नेपाल अर्बुद्ध रोग निवारण संस्था सिराहा शाखाले पछिल्लो १० वर्षदेखि संचालन गरिरहेको सेन्टरमा स्थापना गरिएको प्रयोगशालाबाट अन्य रोगका बिरामीहरुलाई सुलभ मूल्यमा स्तरीय सेवा उपलब्ध गराइने सेन्टरका अध्यक्ष अशोकलाल अमात्यले बताए । प्रदेशसभा सदस्य चौधरीमार्फत् प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्रयोगशालाका लागि महिलाको स्तन क्यान्सर भए नभएको पत्ता लगाउने मेसिन जडान गरिएपछि स्तन क्यान्सर जाँच गर्न सहज हुने अध्यक्ष अमात्यले उल्लेख गरे ।
गत १६ पुसमा सेन्टरमा अत्याधुनिक प्रयोगशाला स्थापना गर्न नेपाल अर्बुद्ध रोग निवारण संस्थाले करिब ५० लाख रुपैयाँ मूल्य बराबरको सामग्री उपलब्ध गराएको थियो । लहान नगरपालिकाले ७ नं. वडामा उपलब्ध गराएको दुइ तले भवनमा संचालित सेन्टरमा ‘हरेक महिनाको हरेक शनिबार’ क्यान्सर जाँच अभियान’ थालनी भएसँगै सिरहा, सप्तरी लगायतका जिल्लाबाट आउने बिरामीले प्रयोगशालाबाट स्तरीय सेवा पाउने सेन्टरले जनाएको छ ।