
सिरहा । किसानको माग पूरा गराउन बिहीबारदेखि गएिको पूर्व पश्चिम राजमार्ग बन्दको उल्लंघन गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले बिहीबार चोहर्वा खण्डमा तेल लोड भएको ट्याङ्कर तोडफोड गरेका छन् ।
बन्द उल्लंघन गरेको भन्दै सिके राउत नेतृत्वको जनमत कार्यकर्ताहरुले तेल लोड रहेको विराटनगरतर्फ जाँदै गरेको ना. ४ ख १७९८ नम्बरको ट्याङ्कर नरहा गाउँपालिका ३ चोहर्वा खण्डमा तोडफोड गरेका हुन् । प्रहरीले ट्याङ्कर तोडफोडसहित राजमार्गका विभिन्न खण्डमा सवारी साधनको आवागमनमा अवरोध पुर्याएको आरोपमा १९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीले बताए । प्रहरी नायव उपरीक्षक बुढाथोकीका अनुसार पक्राउ गरिएकाहरुलाई मिर्चैया, गोलबजार, धनगढी, लहान लगायतका प्रहरी युनिटमा राखिएको छ ।
पूर्व पश्चिम राजमार्गमा जनमत कार्यकर्ताहरुले तेल लोड रहेको टयाङ्करमा तोडफोड गर्न थालेपछि सम्भावित दुर्घटना रोक्न प्रहरीले हस्तक्षेप गर्दा जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत प्रहरी हबल्दार घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जनमत कार्यकर्ताहरुले प्रहार गरेको ढुंगाले खुट्टामा चोट लागेर घाइते भएका हबल्दारको धनगढीमा उपचार भइरहेको छ । जनमत पार्टीले किसानको माग पूरा नभएसम्मका लागि भन्दै बिहीबारदेखि बिहानदेखि बेलुकासम्म अनिश्चितकालीन राजमार्ग बन्द घोषणा गरेको छ ।
जनमत पार्टीले किसानको माग सम्बेधन गर्न उच्च स्तरीय समिति गठन गरिनु पर्ने, समयमै मलखाद र बीउविजनको व्यवस्था गरिनु पर्ने, निःशुल्क बिजुलीको व्यवस्था गरी सिंचाईको प्रबन्ध गरिनु पर्ने मा गरेको छ । त्यस्तै, हावाहुरी र वर्षाका कारण क्षति भोगेका किसानलाई राहतको व्यवस्था गरिनु पर्ने, कृषि उत्पादनको उचित मूल्य निर्धारण गरिनु पर्ने, उखु किसानको बक्यौता रकम भुक्तानी गरिनु पर्ने, किसानलाई कार्डको व्यवस्था गरी सोही कार्डको आधारमा सीमा नाकाको बजारबाट सामान ल्याउन पाउने व्यवस्था गरिनु पर्ने, किसानलाई पेन्सनको व्यवस्था गरिनु पर्ने, स्वतः बाली बीमाको व्यवस्था गरिनु पर्ने जनमतको माग छ ।