
सप्तरी । प्रहरीले कर्तव्य ज्यान र लुटपिट मुद्दामा अदालतबाट फैसला भई फरार रहेका सप्तरीको दुई स्थानीय तहका नौ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपसिथत गराएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार अदालतबाट फैसला भई फरार रहेका कर्तव्य ज्यान मुद्दाका छ जना र लुटपिट मुद्दाका तीन जना गरी नौ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको हो । सप्तरी प्रहरीका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सप्तरी जिल्ला अदालतबाट फैसला भई फरार रहेका सप्तरीको राजगढ गाउँपालिका ६ तथा डाक्नेश्वरी नगरपालिका २ का सात पुरुष र दुई महिला गरी नौ जना प्रतिवादीहरुलाई सोमबार पक्राउ गरी जरिबाना असुलीका लागि जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
को को परे पक्राउ ?
प्रहरीले खोजी गर्न क्रममा सप्तरीको कर्तव्य ज्यान मुद्दाका राजगढ गाउँपालिका ६ का रामकिसुन खंग, शिवदेव खंग, गर्भी खंग, रामसेवक खंग, हरिकिसुन खंग, लोचन खंगलाई पक्राउ गरेको हो । पक्राउ गरिएका छ जनालाई नै अदालतले जनही पाँच/पाँच सय रुपैयाँ जरिबाना तोकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लुटपिट मुद्दामा अदालतबाट २१ रुपैयाँ जरिबाना तोकिएकी सप्तरीको डाक्नेश्वरी नगरपालिका २ भुतहीकी दयावती वि.क., ५०/५० रुपैयाँ जरिबाना तोकिएका बिरेन्द्र वि.क. र दुलारीदेवी वि.क. पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ ।