
सिरहा । जनता प्रगतिशील पार्टीले स्थानीय तहको नामाङ्कन र सिमाङ्कन गरेपछि मात्र स्थानीय तहको निर्वाचन गराउन माग गरेको छ ।
पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै १ नं. प्रदेश, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा स्थानीय तहको नामाङ्कन र सिमाङ्कन गर्ने उद्देश्यले गठित आयोगको सिफारिश तत्काल कार्यान्वयनपछि मात्र निर्वाचनको माग गरेका हुन् । विज्ञप्तिमा स्थानीय तहको नामाङ्कन र सिमाङ्कन गर्न गठित आयोगको सिफारिश मधेस प्रदेशमा मात्र कार्यान्वयन भएको उल्लेख गर्दै उल्लेखित प्रदेशमा सिफारिश कार्यान्वयन नगरिए निर्वाचनमा समेत बाधा पुग्न सक्ने परिस्थिति सिर्जना हुन सक्नेतर्फ सचेत गराइएको छ ।
सत्तापक्षीय गठबन्धनद्वारा स्थानीय तहको निर्वाचन आगामी जेठसम्म सम्पन्न गराउने प्रतिबद्धताको स्वागत गर्दै विज्ञप्तिमा संवैधानिक र कानुनी अस्पष्टता अनगिन्ती संख्यामा रहेको तथ्याप्रति ध्यानाकषर्णण गराइएको छ । ‘किस्ताबन्दीमा तत्कालीन रुपले समस्या हल गर्ने प्रवृत्तिले समस्याको समाधान दिंदैन’ विज्ञप्तिमा भनिएको छ ‘अपितु पन्छाउने काम मात्र गर्दछ । यस प्रकारको सुतुरमुर्गे प्रवृत्ति कुनै समयमा घातक सावित हुन सक्ने प्रति सजग गराउन चाहन्छु ।’