राष्ट्रिय फुटबलका पूर्व कप्तान खड्का विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथ नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्व प्रशिक्षक समेत रहेका हरि खड्का विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार विरुद्ध मुद्दा दायर गरेको छ ।
कक्षा १२ उत्तिर्ण गरेको नक्कली प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको अभियोगमा आयोगले बुधबार विशेष अदालतमा खड्का विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । भारत उत्तर प्रदेशको वाराणशीबाट माध्यमिक शिक्षा परिषद्को नाममा जारी नक्कली प्रमाणपत्र पेश गरी त्यसकै आधारमा २०५५ सालमा खुला प्रतिस्पर्धाबाट खड्का नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भएको अख्तियारको आरोप छ ।
महानगरीय प्रहरी गण नं. २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकुद समितिमा प्रहरी नायव निरीक्षकका रुपमा कार्यरत खड्का विरुद्ध प्रहरीमा पेश गरेको प्रमाणपत्र नक्कली भएको आरोपसहित उजुरी परेको अख्तियारले जनाएको छ । प्रहरीबाट राजीनामा दिइसकेका खड्का १४ माघ २०५९ मा प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका थिए । सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लवबाट फुटबल खेलेका खड्का त्यसपछि छ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारीमा रहेका थिए । गत वर्ष राष्ट्रिय खेलकुद परिषद्को सदस्य नियुक्त भएका खड्का नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्व प्रशिक्षक समेत थिए ।