करिब पौने चार लाख मूल्यको सूर्तीजन्य पदार्थ बरामद

सप्तरी । भन्सार छली गरेर ल्याइएको करिब पौने चार लाख मूल्यको सूर्तीजन्य पदार्थसहित सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरी कारबाहीका लागि राजविराज भन्सार कार्यालय बुझाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार तीन सय ३० प्याकेट रजनीगन्धा, एक सय ३६ प्याकेट तुलसीको तीन लाख ६९ हजार सात सय २० रुपैयाँ मूल्यको अवैध सूर्तीजन्य पदार्थ भन्सार कार्यालय बुझाइएको हो । प्रहरीले अवैध सूर्तीजन्य पदार्थ बोकेको टेम्पोको साढे तीन लाख रुपैयाँ मूल्यसहित सात लाख १९ हजार सात सय २० रुपैयाँ बराबरको अवैध सूर्तीजन्य पदार्थ भन्सार कार्यालय बुझाएको जनाएको छ ।
सप्तरी प्रहरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेको कमाण्डमा खटिएको गस्ती टोलीले बुधबार बिहान प्र.१–०२–००२ स२७०४ नम्बरको टेम्पोबाट अवैध सूर्तीजन्य सामग्री बरामद भएको जनाइएको छ । प्रहरीले टेम्पो चालक सप्तरीको राजगढ गाउँपालिका ५ घर भएका २० वर्षीय चन्दनकुमार मण्डल र सोही टेम्पोमा बसेका राजगढ गाउँपालिका ३ घर भएका ४६ वर्षीय हरिनारायण साहलाई समेत पक्राउ गरिएको जनाएको छ ।