कांग्रेसको स्थगित जिल्ला अधिवेशन पुनः स्थगित

सिरहा । नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको १५ माघमा गर्ने भनिएको अधिवेशन अनिश्चितकालका लागि पुनः स्थगित गरिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले शुक्रबार प्रेस विज्ञप्तिमार्फत् मुलुकमा पछिल्लो समयमा कोभिड १९ को भयावह अवस्थाका कारण संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको र जनजीवन समेत प्रभावित बन्दै गइरहेको सन्दर्भमा केन्द्रीय निर्वाचन समितिको माघ ६ गतेको निर्णय अनुसार १६ जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचन स्थगित गरिएको जनाएका छन् ।
विज्ञप्तिमा आम नागरिकको स्वास्थ्य सुरक्षा र सतर्कतालाई प्राथमिकतामा राखी सरकारले सुरक्षा र सावधानीका शर्त र मापदण्ड लागू गरेको परिस्थितिमा पार्टीका जिल्ला अधिवेशनका प्रतिनिधि लगायत जिल्ला कार्यसमितिको निर्वाचनमा प्रत्यक्ष सहभागी हुने पार्टीका नेता कार्यकर्ता, निर्वाचन समितिका प्रतिनिधिहरु, सुरक्षाकर्मी, संचारकर्मी, स्वयम्सेवक सहयोगीको स्वास्थ्य सुरक्षालाई ध्यान दिई १६ जिल्लाको अधिवेशन स्थगित गरिएको उल्लेख छ ।
अधिवेशन गर्न बाँकी जिल्लाहरु
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछामको जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको निर्वाचन गर्न बाँकी रहेको छ ।
कोभिड १९ को संक्रमणको जोखिम न्यूनीकरण तथा आम जनजीवन सामान्य बन्दै गएपछि स्थगन गरिएका १६ जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचन तत्काल गरिने विज्ञप्तिमा जनाइएको छ । यसअघि २७ पुसमा गर्ने भनिएको स्थगित जिल्ला अधिवेशनहरु १२ पुसमा नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको निर्णय अनुरुप १५ माघका लागि सारिएको थियो ।