निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी पछिल्लो ६ महिनामा चौथोपटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । निगमले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १९ अर्ब २६ करोड रुपैयाँ नोक्सान बेहोरेको दावी गर्दै चारपटक मात्र मूल्य समायोजन गरेर उपभोक्ता हितअनुकूल कारोबार गरिरहेको जनाएको छ ।
कति बढ्यो मूल्य ?
निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन–तीन रुपैयाँ बढाएको छ भने आन्तरिक हवाई इन्धन प्रतिलिटर पाँच रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलोलिटरमा एक सय डलर बृद्धि गरिएको छ । नयाँ मूल्य सूची अनुसार काठमाडौं उपत्यकामा पेट्रोल एक सय ३९ रुपैयाँ, डिजेल र मट्टीतेल समान एक सय २२ रुपैयाँ प्रतिलिटर पर्नेछ । आन्तरिक हवाई इन्धनको मूल्य एक सय ६ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य नौ सय ९५ रुपैयाँ प्रतिकिलोलिटर कायम गरिएको निगमले जनाएको छ ।
निगमले ३० फागुन २०७० मा मूल्यवृद्धि गरी पेट्रोल एक सय ४० रुपैयाँ तथा डिजेल र मट्टीतेल एक सय नौ रुपैयाँ प्रतिलिटर पु¥याएको थियो । तर, बुधबार रातिबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय २२ रुपैयाँ निर्धारण गरेको छ, जुन अहिलेसम्मकै महँगो हो ।
चालु आ.व.मा चार पटक मूल्य बृद्धि
चालु आ.व.२०७८/०७९ को साउनदेखि पुससम्म निगमले पेट्रोलियम पदार्थमा चार पटक मूल्यबृद्धि गरेको छ । ७ भदौमा मूल्यवृद्धि गर्दै निगमले पेट्रोल एक सय ३० तथा डिजेल र मट्टीतेल समान एक सय १३ रुपैयाँ प्रतिलिटर मूल्य कायम गरिएको थियो भने आन्तरिक हवाई इन्धन ८६ रुपैयाँ प्रतिलिटर, बाह्य हवाई इन्धन सात सय ७० डलर प्रतिकिलोलिटर र एलपी ग्यास प्रतिसिलिण्डर एक हजार चार सय ५० रुपैयाँ कायम गरिएको थियो । त्यसयता निगमले १२ कात्तिक, २४ कात्तिक र बुधबार समेत मूल्यवृद्धि गरेको हो ।
निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण निरन्तर मूल्य बढाउनुपरेको दावी गर्ने गरेको भएपनि अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा भने निगमले मूल्य नघटाएर आफूअनुकूल मूल्य समायोजन गर्दै आएको छ ।