सिरहाको लक्ष्मीपुरपतारीमा १५ औं बलिदानी दिवस सभा

सिरहा । २०६३ माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा संघीयता, समानुपातिक सहभागिता, मधेसी पहिचान उल्लेख नगरिएको भन्दै लहानबाट शुरु भएको मधेस विद्रोह बुधबार १५ वर्ष पूरा भएको छ ।
विद्रोहपछिको १५ औं बलिदानी दिवस सभा यो पल्ट सिरहाको लक्ष्मीपुर पतारीमा मनाइँदैछ । स्थानीय पतारी पोखरी किनारमा आयोजना गरिएको बलिदानी दिवस सभालाई सम्बोधन गर्न जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसहित संघीय सांसद् राजकिशोर यादव, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरुसहित जनता समाजवादी पार्टीका नेताहरु पुगेका छन् ।
बलिदानी दिवसको अवसरमा लहान १ स्थित शहिद रमेश महतोसहित पाँच जनाको सालिक रहेको सहिद पार्कमा बुधबार जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष यादवसहित मधेस सरकारका मुख्यमन्त्री मो. लालबाबु राउत, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा लगायतका नेताहरुले माल्यार्पण गर्दै मधेस प्रदेश स्थापना भएकाले अब सहिदको बाँकी सपना पूरा गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । २०६२÷०६३ को जनआन्दोलनपछि जारी भएको अन्तरिम संविधानमा मधेसीलाई उपेक्षा गरिएको, संघीयता नराखिएको भन्दै तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको आह्वानमा संघीयता, जनसंख्याको आधारमा समानुपातिक सहभागिता लगायतको मागसहित शुरु भएको आन्दोलन ५ माघमा लहानका विद्यार्थी रमेश महतोको गोली लागेर मृत्यु भएपछि मधेसका विभिन्न जिल्लाहरुमा चर्किएको थियो ।
आन्दोलनका क्रममा सिरहाका ग्रामीण क्षेत्रबाट लहानको आन्दोलनमा आएकामध्ये पाँच जना सहिद भएका थिए । मधेस आन्दोलनमा महतोसहित लहान १५ ढोढना माहेनपुरका बेचन यादव, लहान ४ का विजय सहनी, सखुवानन्कारकट्टी गाउँपालिका ५ महेशबारीका मोहम्मद अनिश र सखुवानन्कारकट्टी गाउँपालिका ३ मिर्जापुरका प्रमोद सदाय सहिद भएका थिए । ०६३ को मधेस आन्दोलनमा तराईका विभिन्न जिल्लाहरुबाट ३८ जनाको निधन भएको थियो भने ५८ जना गम्भिर घाइते भएका थिए ।