खोला किनारमा महिलाको शव, हत्यापछि फालेको आशंका

सिरहा । मिर्चैया नगरपालिका ७ छघरेस्थित सामुदायिक वन क्षेत्रको खोला किनारमा बुधबार बेवारिसे महिलाको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मिर्चैयाको छघरेमा पर्ने हरियो सामुदायिक वन क्षेत्रको भालु खोला किनारमा करिब ४० वर्षीया महिलाको शव भेटिएको हो । रातो ज्याकेट, निलो बुट्टे रङ्को कुर्ती, रातो सुरुवाल लगाएकी महिला गहुँ गोरो वर्णको रहेको सिरहा प्रहरीका सूचना अधिकारी डिएसपी सुवाष बुढाथोकीले जानकारी दिए ।
डिएसपी बुढाथोकीका अनुसार मधेसी मूलकी जस्तो देखिने महिलाको दुवै खुट्टाको चप्पल, दाउरा बोक्ने बिडिया समेत भेटिएकाले दाउरा खोज्न गएकी हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले शव भेटिएको विषयमा सूक्ष्म अनुसन्धान थलिएको बताएपनि दाउरा खोज्न गएका बेला हिलालाई हत्या गरेर फालेको हुन सक्ने आशंका गरिएको छ ।
जंगलमा दाउरा खोज्न प्रायः छेउछाउका गाउँका मानिसहरु जान सक्ने भएकाले मृतक महिला मिर्चैया क्षेत्रकै हुन सक्ने आशंका गरिएको छ । शव भेटिएपछि आवश्यक प्रकृया पूरा गरी पोष्टमार्टम तथा शव पहिचानका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।