श्रृजनशीलको साढे छ करोड बढी मुनाफा

सिरहा । गोलबजार नगरपालिका ७ चोहर्वास्थित श्रृजनशील लघुवित्त वित्तीय संस्था लि.ले साढे छ करोड रुपैयाँ बढी मुनाफा कमाएको छ ।
चोहर्वास्थित केन्द्रीय कार्यालयमा मंगलबार आयोजित तेस्रो वार्षिक साधारणसभाले पारित गरेको आर्थिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा एक करोड ३७ लाख ८१ हजार एकसय २६ रुपैयाँ ७९ पैसा घाटा रहेको संस्थाले आ.व.२०७७÷०७८ को असार मसान्तसम्म छ करोड ५७ लाख ३९ हजार पाँच सय ४३ रुपैयाँ खुद मुनाफा गरेको उल्लेख छ । प्रतिवेदन अनुसार उक्त अवधिमा संस्थाले १२ अर्ब ३५ करोड ९५ लाख ३३ हजार पाँच सय ६८ लगानी र १० अर्ब ४६ करोड २७ लाख ७२ हजार पाँच सय ८८ रुपैयाँ असुली गरिएको छ ।
साधारणसभामा शेयरधनी सदस्य समेत रहेका प्रतिनिधि सभा सदस्य लिानाथ श्रेष्ठले संस्थाको भाका नाघेको ऋण असुलीतर्फ ध्यान दिनुपर्ने औंल्याए । ‘कार्यक्षेत्र रहेका जिल्लामा संस्थाका ग्राहकले समूह छाड्नुको कारण पत्ता लगाएर आफूहरुसँगै राख्न विशेष योजना बनाउनु पर्छ’ प्रतिनिधिसभा सदस्य श्रेष्ठले भने ‘संस्थाको मर्जरसँगै ग्राहकको वित्तीय साक्षरता, स्वास्थ्य सीप विकास, आवश्यकता, लिएको रकमको सदुपयोगिता लगायतमा ध्यान दिएर योजना बनाउनु पर्छ ।’
आइपिओ निष्काशन गर्दै
प्रदेश १ को एक, २ को आठ र बागमती प्रदेशमा एक जिल्ला गरी १० जिल्लामा संस्थाले ३३ शाखामार्फत् लघुवित्त सेवा अन्तर्गत ग्राहक सदस्यहरुमा लगानी, कर्जा असुली, बचत तथा बीमा लगायतका गतिविधिहरु गरिरहेको प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठले बताए ।
संस्थाको ३३ शाखामा ३८ हजार दुई सदस्यमध्ये २० हजार चार सय ६४ जना ऋणी रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार संस्थाले गत आ.व.मा २९ करोड ८९ लाख १६ हजार चार सय ६९ आम्दानी र २३ करोड ३१ लाख ७६ हजार नौ सय २६ रुपैयाँ खर्च गरेको छ ।
संस्थाले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा तीन करोड ३७ लाख दुई हजार पाँच सय रुपैयाँ बराबरको तीन लाख ३७ हजार २५ कित्ता साधारण सेयर (आइपिओ) निष्कासन गर्ने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । संस्थाको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको जानकारी दिंदै श्रेष्ठले त्यसका लागि श्रृजनशील र क्यापिटलसँग सम्झौता गरी प्रकृया समेत अगाडि बढाइएको छ ।