इँटा भट्टामा मजदूर महिलाको मृत्यु

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका ६ तेरहौतास्थित इँटा भट्टामा सोमबार अपरान्ह काँचो इँटाले थिचिएर घाइते भएका तीन जनामध्ये एक महिला मजदूरको मृत्यु भएको छ ।
भट्टामा पकाउन इँटा चाङ् लगाउने क्रममा चाङ् भत्किंदा गम्भिर घाइते भएकी रुपनी गाउँपालिका ६ तेरहौताका दुखन सरदारकी श्रीमती करिब ५० वर्षीया जतरीदेवी सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरी प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार काँचो इँटाले थिचिएर गम्भिर घाइते भएकी सरदारको उपचारको क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा सोमबार साँझ मृत्यु भएको हो ।
भट्टामा घाइते भएका सप्तरीको अग्नीसाईर कृष्ण सावरण गाउँपालिका ४ घर भएका करिब ५० वर्षीय मंगल सदा, भारतको रायबेरली मधुवन घर भएका करिब ४० वर्षीय रमेश कुमार लौउदीको छिन्नमस्ता अस्पतालमै उपचार भइरहेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए । प्रहरीले घटनास्थल प्रकृति मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि राजविाजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाई थप अनुसन्धान गरिरहेको जनाएको छ ।