सिराहामा मदाता परिचय पत्र बनाउनेको भिड, ७३ हजार बढी मतदाता थपिए

सिरहा । जिल्लाको विभिन्न स्थानीय तहबाट जिल्ला सदरमुकास्थित जिल्ला निर्वाचन कार्यालय पुगेर फोटोसहितको मतदाता सूचीमा आफ्नो नाम दर्ता गराउन चाहनेहरुको दैनिक घुइँचो लाग्ने गरेको छ ।
निर्वाचन आयोगको निर्णय अनुसार जिल्ला निर्वाचन कार्यालयले गत १७ मंसिरदेखि १९ पुससम्म पहिलो र दोस्रो चरणमा जिल्लाका स्थानीय तहमा संचालन गरेको मतदाता दर्ता विशेष कार्यक्रममा विभिन्न कारणले छुटपछि कार्यालयमै आएर नाम दर्ता गराउन चाहनेहरुको घुइँचो लाग्ने गरेको जिल्ला निर्वाचन अधिकारी इन्दिरा यादवले जानकारी दिइन् । ‘फोटोसहितको मतदाता सूचीमा आफ्नो नाम दर्ता गराउन बिहान कार्यालय खुलेदेखि साँझसम्म जिल्लाका विभिन्न स्थानीय तहबाट आएकाहरुको लामो लाइन लाग्ने गरेको छ’ जिल्ला निर्वाचन अधिकारी यादवले भनिन् ।
१६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्राप्त गरिसकेकाहरु मतदाता सूचीमा समावेश हुन सक्ने भएकाले नाम दर्ताका लागि कार्यालयमा बढी घुइँचो हुने गरेको उनले बताइन । निर्वाचन घोषणा नहुञ्जेल निर्वाचन कार्यालयसहित जिल्ला प्रशासन र इलाका प्रशान कार्यालयमा समेत मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने उनले बताइन् ।
जिल्लामा ७३ हजार बढी मतदाता थप
२०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि जिल्लामा तीन जना तेस्रो लिंगीसहित २० पुसम्म ७३ हजार एक सय १० जना मतदाता थपिएका छन् । पछिल्लो स्थानीय तहको निर्वाचनमा मतदाता सूचीमा रहेकाको संख्या बढी भएपनि निर्वाचन घोषणा भएको मितिमा १८ वर्ष पुगेका एक लाख ७७ हजार नौ सय ४० पुरुष र एक लाख ५६ हजार नौ सय ५४ जना महिला गरी तीन लाख ३२ हजार आठ सय ९४ मतदाता थिए ।
स्थानीय तहको निर्वाचनपछि जिल्ला निर्वाचन, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयमा गत मंसिर मसान्तसम्म मतदाता सूचीमा दर्ता भएका, मंसिर र पुसमा स्थानीय तहमा संचालन गरिएको मतदाता दर्ता विशेष कार्यक्रममा दर्ता भएकाहरुसहित जिल्लाको १७ स्थानीय तहमा दुई लाख १६ हजार नौ सय ६७ पुरुष, एक लाख ८९ हजार ३४ जना महिला र तीन तेस्रो लिंगीसहित कुल चार लाख छ हजार चार जना मतदाता भएका छन् । त्यसबाहेक पुस महिनामा निर्वाचन कार्यालय, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयमा दर्ता भाएकाहरुको संख्या थपिंदा जिल्लाको कुल मतदाता संख्या बढ्ले उनले बताए ।