क्षति यकिन गरी राहतको व्यवस्था गर्न महासंघको माग

धनुषा । नेपाल पत्रकार महासंघ प्रदेश २ ले पत्रकार सुरेश कुमार यादवको घरमा तीन दिनअघि भएको आगजनीको क्षति यकिन गरी तत्काल राहतको व्यवस्था गर्न माग गरेको छ ।
पूर्वी धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ सखबोनी क्वासे टोल घर भएका पत्रकार यादवको घरमा अज्ञात व्यक्तिले मंगलबार आगजनी गरेको थियो । महासंघका प्रादेशिक अध्यक्ष राजेशकुमार कर्णले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही र पीडितलाई राहतको व्यवस्था गर्न प्रदेश सरकार समक्ष माग गरेका छन् ।
नगदसहित करिब १५ लाखको क्षति
आगजनीमा घरखर्चका लागि स्थानीय शुभश्री बचत तथा ऋण सहकारी संस्थाबाट अघिल्लो दिन ऋण लिएको दुई लाख ८५ हजार रुपैयाँ नगद, काठको दराज, सोफा, पलङ्, ओढ्ने–ओछ्याउनेसहित लत्ताकपडा, गरगहना, अन्नपात जलेर करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए । आगजनीमा जस्ताको छानो भएको काठको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
आमा बिरामी भएपछि जनकपुरबाट थप उपचारका लािग चितवन लैजाने तयारी गरिहेका बेला सोमबार बिहान आगजनी भएको गाउँलेले फोनमार्फत् जानकारी गराएको पीडित यादवले गुनासो गरे । आगजनीको खवर पाए लगत्तै इलाका प्रहरी कार्यालय ढल्केवर र जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएपछि प्रहरीको टोली घटनास्थल आएर मुचुल्का गरेको स्थानीय गाउँलेहरु बताउँछन् ।
सबैला नगरपालिकामा भएको अनियमितताको बारेमा निरन्तर लेख्दै आएका यादवले नगरसँग सूचना मागसँगै करिब दुई महिनासम्म धर्ना समेत बसेकाले आगजनी हुनुमा त्यो घटनामा पनि जोडिएको हुन सक्ने आशंका व्यक्त गरे ।