
सिरहा । अंग्रेजी नयाँ सम्वत् २०२२ को पहिलो दिन शनिबार सिरहा र सर्लाहीमा भएको मोटरसाइकल दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पूर्व पश्चिम सडक अन्तर्गत सिरहाको गोलबजार नगरपालिका ६ दुर्गा मन्दिर नजिक शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ गईरहेको स. ७ प १८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा उछिट्टिंदा सिरहाको कल्याणपुर नगरपालिका ११ कल्याणपुर जब्दी घर भएका मोटरसाइकल चालक २५ वर्षीय सञ्जय साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते भएका साहको गोलबजारस्थित भूमिजा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि लहानतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका कल्याणपुर जब्दीका २६ वर्षीय ललित साह घाइते भएका छन् । घाइते साहको गोलबजारमा उपचार भईरहेको छ । मृतकको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सर्लाहीको इश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडक खण्डको सागरनाथ जंगलमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सागरनाथबाट बयलवासतर्फ जाँदै गरेको बा. १९ प ७१९७ नम्बरको मोटरसाइकल शनिबार राति आफै अनियन्त्रित भई सपेताको रुखमा ठोक्किएर सडकभन्दा १० मिटर तल लडेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार इश्वरपुर नगरपालिका १० दसबिगाहा बस्ने २२ वर्षीय अरुण सिंह, २० वर्षीय संगम वि.क. र २२ वर्षीय रोहन सिंहको मृत्यु भएको हो । घट्नास्थलमै मृत्यु भएका तीन जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा लगिएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए ।