वडाध्यक्षसहित तीन जना विरुद्ध भ्रष्टाचारको मुद्दा

सर्लाही । स्थानीय उपभोक्ता समितिमार्फत् गाउँमा सडक निर्माणपछि कार्य सम्पन्न सिफारिश गर्दा एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा सर्लाहीको इश्वरपुर नगरपालिका ११ का वडाध्यक्षसहित तीन जना विरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा बडाध्यक्ष रामदुलार साह, सदस्यद्वय उमेश राय र सोनेलाल साह रौनियार विरुद्ध एक लाख ५० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो । आयोगद्वारा जारी विज्ञप्ति अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको आरोपसहित उक्त ऐनको उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन माग दावी गर्दै मुद्दा दायर गरिएको हो ।
कार्य सम्पन्न सिफारिश वापत् घुस !
आयोगका प्रवक्ता नारायण प्रसाद रिसालद्वारा जारी विज्ञप्तिमा वडाध्यक्षको निर्देशनमा वडा सदस्यद्वयले उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिशका लागि एक लाख ५० हजार रुपैयाँ घुस मागिरहेको उजुरीको आधारमा बर्दिवासस्थित आयोगको टोलीले रकमसहित पक्राउ गरिएको उल्लेख छ ।
गत कात्तिक २९ गते आयोग टोलीले सोनेलाल र उमेशलाई सेवाग्राहीबाट लिएको एक लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको विज्ञप्तिमा जनाइएको छ । वडाध्यक्षको निर्देशनमा सेवाग्राहीबाट उमेशले लिएर बाँडफाडका लागि सोनेलाललाई राख्न दिएको अवस्थामा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । अयोगका अनुसार इश्वरपुर ११ भलुवाइ सडक निर्माणपछि कार्य सम्पन्न सिफारिश गर्दा उपभोक्ता समितिसँग आफ्नो ओहोदा र पदीय दायित्वसमेत ख्याल नगरी बदनियतपूर्वक रकमको बार्गेनिङ् गरी घुस÷रिसवतवापत्को रकम लिइएपछि नियन्त्रणमा लिई मुद्दा दायर गरिएको हो ।