
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा समूहगत छलफलपछि निष्कर्षको रिपोर्टिङ् शुरु भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक दस्ताबेज र नेता देव गुरुङ्ले प्रस्तुत गरेको विधान मस्यौदा प्रस्तावमाथि महाधिवेशन प्रतिनिधिहरुको २५ समूहमध्ये बुधबार १० समूहका ११ नेताले आ–आफ्नो समूहगत निष्कर्ष प्रस्तुत गरेका छन् । बाँकी समूहका नेताले बिहीबार आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने जनाइएको छ ।
महाधिवेशनको बन्दसत्रमा बुधबार सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङले समूहको निष्कर्ष प्रस्तुत गरेका छन् । त्यस्तै, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरू, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कुँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गरेका छन् ।
राष्ट्रिय महाधिवेशनको पाँचौं दिन बिहीबार बिहान ११ बजेदेखि बन्दसत्र सुचारु हुने प्रचारप्रसार उपसमितिले जनाएको छ । बुधबारको बन्दसत्रको प्रारम्भमा अध्यक्ष मण्डलका सदस्य गिरिराजमणि पोखरेलले बन्दसत्र सञ्चालन सम्बन्धी आचारसंहिता सुनाएपछि बन्दसत्र शुरु भएको थियो । वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न प्रतिनिधिहरूलाई २५ वटा समूहमा विभाजित गरेर मंगलबार बिहानदेखि बुधबार मध्यान्ह १२ बजेसम्मको समय छुट्याइएको थियो ।