
दाङ् । कर्तव्य जयान मुद्दामा कैद सजाय भुक्तान गर्ने क्रममा दाङको घोराही कारागारमा रहेका कैदी उपचार गराउने निहुँमा फरार भएपछि जेलर र सुरक्षाकर्मीसहित नौ जना पक्राउ परेका छन् ।
कैदी यमराज फरार भएको छ दिनपछि मंगलबार जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, विपासा चौधरी, समि चौधरी, सौरभ खनाल, भानुभक्त पाण्डे र थकाली होटलका संचालकलाई पक्राउ गरिएको हो । पक्राउ गरिएकाहरुलाई रहेका थप अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङ्ले जनाएको छ ।
छालाको बिमारी भएको भन्दै उपचार गराउन प्रहरी धनबहादुर चौधरीसँग कैदी २९ वर्षीय परियार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान निस्किएको भएपनि सिधै होटल पुगेका थिए । थकाली होटलमा दुई महिलासहित पुगेका दुईमध्ये परियारले प्रहरी जवान चौधरीलाई कोठामा थुनेर भागेको बताइएको छ । कारागार प्रशासन र सुरक्षा संयन्त्रको लापरवाहीका कारण कैदी भागेको भन्दै घटनामा संलग्नको आशंकामा नौ जनालाई अनुसन्धानको दायरामा ल्याइएको दाङ् प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्ले बताए ।
आफ्नै प्रेमकाको गरेका थिए हत्या
जिल्लाको राजपुर गाउँपालिकाको बेलाका घर भएका परियार आफूलाई अस्पताल पुर्याउन प्रयोग गरिएको लु. ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर भागेका थिए । प्रहरी जवान धनबहादुर चौधरीको उक्त उक्त मोटरसाइकल भोलिपल्ट शुक्रबार लमहीको मुसोटस्थित बेलदमार भन्ने स्थानमा फेला परेको थियो ।
प्रहरी उपरीक्षक काफ्लेका अनुसार बिहान ११ बजे भागेका कैदीको बारेमा अपरान्ह ४ बजेसम्म रिपोर्ट नगरिएकाले घटना मिलेमतोमा भएको आशंका गरिएको छ । फरार कैदीको खोजीका लागि प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालको नेतृत्वमा दुई दर्जन बढी प्रहरी खटाइएको भएपनि अझै फेला पर्न सकेका छैनन् । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय फैसला भएका परियारले करिब साढे सात वर्ष कैद भुक्तान गरिसकेको कारागार प्रशासनले जनाएको छ ।
तत्कालीन सत्बरिया गाविस ५ निवासी २२ वर्षीया हेमा चौधरीसँग प्रेम सम्बन्धमा रहेका परियारले चौधरी गर्भवती भएपछि हत्या गरेका थिए । गर्भवती भएसँगै २०७१ जेठ २२ गते घरबाट चौधरी हराएपछि प्रहरीले अनुसन्धानका लागि परियारलाई २०७१ साउन ४ गते नियन्त्रणमा लिएको थियो । चौधरीलाई मोटरसाइलमा चढाएर परियारले साविक सतबरिया ९ सिमपाखापानी जंगलमा राती हत्या गरेको खुलेको थियो ।