
पोखरा । प्रदेश सरकारको मन्त्री बनेको करिब साढे दुई महिनापछि गण्डकी प्रदेश सरकारमा बिना विभागीय मन्त्री रहेका डोबाटे विश्वकर्माले मन्त्रालयको जिम्मेबारी पाउने भएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद्को बैठकबाट कार्यसम्पादन नियमावली पारित गराएकाले एक÷दुई दिनभित्रै मुख्यमन्त्रीले हेर्दै आएको आन्तरिक मामिला मन्त्रालयको जिम्म्ेबारी विश्वकर्मालाई दिन लागिएको बताए । मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री पोखरेलको मातहतमा रहेको मन्त्रालय अलग गरेर बिना विभागीय मन्त्री विश्वकर्मालाई जिम्मेवारी दिन कार्यसम्पादन नियमावलीको अनुसूची फेरेको छ ।
परिवर्तित कार्यसम्पादन नियमावलीको अनुसूची अनुरुप विश्वकर्मालाई मन्त्रालयको जिम्मेबारी दिने तयारी गरिएको गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । त्यसअघि छुट्टै रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अघिल्लो सरकारले कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय मात्र राखेर आन्तरिक मन्त्रालय मुख्यमन्त्रीको जिम्मेबारी अन्तर्गत राखेको थियो ।