आगजनीसहित सावारी साधनमा तोडफोड, प्रहरीद्वारा १४ जना नियन्त्रणमा

सिरहा । किसानलाई निःशुल्क बाँड्न भण्डारण गरेर राखेको गहुँको बीउ लुटपाटमा संलग्न रहेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेपछि रिहाईको माग गर्दै सिके राउत नेतृत्वको जनमत पार्टी सम्बद्ध कार्यकर्ताले आइतबार जिल्ला आमहड्तालका क्रममा सवारी साधनमा आगजनीसहित तोडफोड गरेका छन् ।
जनमत पार्टीका कार्यकर्ताले आमहड्तालको क्रममा आइतबार दिउँसो सिरहाको नरहा गाउँपालिका ३ को चोहर्वा खण्डमा रोकी राखेको मालबाहक ट्रकमा आगजनी गरेका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. ५ ख ५५२२ नम्बरको ट्रक जनमतका कार्यकर्ताहरुले जलाएका हुन् । उनीहरुले आमहड्तालको उल्लंघन गरेको भन्दै मिर्चैया र गोलबजारमा साना ठूला गरी करिब १३ वटा सवारी साधन तोड्फोड गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीले जानकारी दिए ।
प्रहरीले आमहड्ताल भन्दै सवारी साधनमा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा जनमतका १४ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए । नियन्त्रणमा लिइएकाहरुलाई प्रहरीमा राखेर छानबिन गरी दोषी ठहर भए कानुन अनुसार कारबाही हुने उनले बताए ।
औरही गाउँपालिकाको कृषि शाखाले स्थानीय किसानहरुलाई अनुदानमा बाँड्ने गरी गोदाममा भण्डारण गरेर राखेको दुई सय ३७ बोराको एक सय ३४ क्वीण्टल ८० किलोग्राम गहुँको बीउ ६ पुसमा लुटिएको थियो । गहुँको बीउ लुट्न किसानलाई उक्साएको आरोपमा प्रहरीले ८ पुसमा औरही २ कडहर्वाका मिथिलेश यादवलाई पक्राउ गरेपछि जनमत पार्टी सिरहाले गाउँपालिकामा तालाबन्दी गर्नुका साथै आइतबार जिल्लामा आमहड्तालसहित आन्दोलन गरेको हो ।