बचत समूहका महिलालाई उद्यमशीलता तालिम

सिरहा । समुदाय स्तरमा महिला बचत समूहमार्फत् बचत गर्नुका साथै आयआर्जन सम्बन्धी लघुउद्यम सम्बन्धी व्यवसाय गर्न प्रेरित गर्ने उद्देश्यले सिरहाको लहानमा शनिबारदेखि तीन दिने लघु उद्यम सम्बन्धी तालिम संचालन गरिएको छ ।
तालिममा द फ्रिडम फण्डको सहयोगमा दलित जनकल्याण युवा क्लवद्वारा सिरहाको लहान र धनगढीमाई नगरपालिका, सखुवानन्कारकट्टी, औरही, बरियारपट्टि र लक्ष्मीपुरपतारी गाउँपालिकामा संचालित हरवा चरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत समुदाय स्तरमा गठन गरिएका महिला बचत समूहका ३५ जना अगुवाहरु सहभागी रहेको जनाइएको छ । तालिमपछि क्लवमार्फत् समूहलाई उपलब्ध गराइएको २० हजार रुपैयाँ घुम्ती कोष परिचालन गरी थोरै लगानीको लघुउद्यम व्यवसाय गर्न सघाउ पुग्ने क्लवले जनाएको छ ।
‘तालिममा सहभागी बचत समूहका सदस्यहरुले आर्थिक अवस्था उकास्न समूहको निर्णयको आधारमा लघुउद्यम व्यवसाय गर्न छोटो अवधिका लागि ऋण लिएर व्यवसाय गर्नेछन्’ क्लवका अध्यक्ष उमेशकुमार विसुन्केले भने । उघुउद्यम सम्बन्धी तालिमको उमेश पौडेलको सहजीकरण रहेको छ ।