मोरङ् । सत्तारुढ गठबन्धनमा रहेको नेकपा -माओवादी केन्द्र_ प्रदेश १ समिति अध्यक्षमा पाँचथरका हर्कबहादुर नेम्बाङ (मिक्सो) निर्वाचित भएका छन् । प्रदेश समिति नेतृत्वमा सहमति हुन नसकेपछि भएको निर्वाचनको बिहीबार बिहान सम्पन्न मतगण्नामा नेम्वाङ् एक सय ६९ मतसहित अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
अध्यक्ष नेम्वाङ्का निकटतम् प्रतिद्वन्द्वी धरानका मुक्साहाङ मेयाङ्बोले ६४ मत मात्र प्राप्त गरे । प्रदेश अन्तर्गतका १४ जिल्लाका मतदाता प्रतिनिधिहरु रहेको प्रदेश समिति निर्वाचनमा तीन जना उपाध्यक्षका लागि आठ जनाले प्रतिस्पर्धी थिए । उपाध्यक्ष पदमा शिवकुमार डाँगी, मणिकुमार साम्पाङग र देवान चामलिङ् तथा दुई जनाले प्रतिस्पर्धी रहेको सचिव पदमा गणेश उप्रेती निर्वाचित भएका छन् । तेह्र जना प्रतिस्पर्धी रहेको सहसचिव पदमाकुमारी राई, ऋषिराम ढुंगाना र सागर किराती निर्वचित भएका छन् भने चार जना प्रतिस्पर्धी रहेको कोषाध्यक्ष पदमा रेवतीराज पुरी निर्वाचित भएका छन् ।
प्रदेश समितिमा सर्वसम्मत चयन भएका एक सय ५९ जना सदस्य मतदातामध्ये एक सय ४० जनाले मतदानमा सहभागी भएको र १९ जना मतदान गर्न नआएको प्रदेश निर्वाचन समितिले जनाएको छ । माओवादी केन्द्रको विधान अनुसार प्रदेश समितिमा नौ जना पदाधिकारी रहने व्यवस्था रहेकोमा २९ जनाको उम्मेद्वारी परेको थियो । पार्टीको विधान अनुसार पहिले सदस्यहरु चयन गरेपछि निर्वाचित सदस्यहरुले पदाधिकारी छान्ने व्यवस्था छ । २५ मंसिरमा मोरङको विराटचोकमा माओवादी केन्द्र प्रदेश १ को प्रथम अधिवेशन उदघाटन भएपनि आकांक्षीहरु बढी हुँदा २७ मंसिरमा पदाधिकरी चयन गर्न नगरी दुई सय ५९ जना प्रदेश समिति सदस्य मात्र चयन भएको थियो । २९ मंसिरमा विराटनगरमा बसेको प्रदेश कार्यसमिति बैठकमा पनि पदाधिकारी चयन गर्न नसकेपछि ७ पुसमा पदाधिकारी चयन गर्नेगरी अजम्बर काङबाङको नेतृत्वमा कार्यदल गठन गरी निर्वाचन भएको हो ।