
लहान । सिराहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका क्षेत्रका किसानलाई निःशुल्क रुपमा बाँड्न गाउँपालिकाको कृषि शाखाले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रको गोदाममा भण्डारण गरेर राखेको गहुँको बीउ लुटिएको छ ।
औरही गाउँपालिका कृषि शाखा प्रमुख राजदेव यादवका अनुसार मंगलबार बिहान ११ बजेदेखि औरही गाउँपालिका ३ नं. वडा क्षेत्रमा पर्ने गाउँका किसानहरुलाई बाँड्न स्वास्थ्य केन्द्रको गोदाममा भण्डारण गरेर राखिएको दुई सय ३७ बोरामा प्याक गरिएको एक सय ३४ क्वीण्टल ८० किलोग्राम गहुँको बीउ लुटिएको हो । ‘गत आइतबारदेखि गाउँपालिकाको १ नं. वडामा पर्ने हर्कटी, २ तुलसीपुर, ४ इँटाटार र ५ औरहीका किसानलाई २० किलोसम्म गहुँको बीउ बाँडेका थियौं’ कृषि शाखा प्रमुख यादवले भने ‘ती वडाका केही किसान मात्र गहुँको बीउ लिन बाँकी रहेकाले मंगलबार ३ नं. वडाको पिप्रा प्र.पि.का किसानलाई बीउ बाँड्ने तयारी थियो ।’
टेण्डर प्रकृयामार्फत् सिराहाको जिल्ला सदरमुकाम सिराहास्थित चन्दन एग्रोभेटले गत २९ मंसिरमा छ सय ६० बोरा गहुँको बीउ उपलब्ध गराएको उनले बताए । ‘१ र २ पुसमा स्वास्थ्य केन्द्रको गोदाममा स्टक मिलाएर आइतबारदेखि गहुँको बीउ बाँड्दै थियौं’ उनले भने ‘मंगलबार बिहान ११ बज्नु अगाडि नै आपूmहरु गाउँपालिका कार्यालयबाट गोदाममा नपुग्दै ताला फोडेर बाँकी रहेको बीउ लुटपाट भएछ ।’
गाउँपालिकाले प्रकृया पुर्याएर गहुँको बीउ बाँडिरहेको भएपनि राजनीतिको नाममा केही उच्छृंखल व्यक्तिहरुको योजनामा गहुँको बीउ लुटिएको गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले बताए । जनप्रतिनिधि र कृषि शाखा सम्बद्ध कर्मचारी गोदाममा पुग्नु अगावै ताला फोडेर गाउँपालिकाले भण्डारण गरेर राखेको गहुँको बीउ लुटिंदा किसानहरु नै मर्कामा पर्ने उनले बताए ।
स्वास्थ्य सामग्री पनि लुटियो
अध्यक्ष यादवका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रले कोभिड १९ बाट संक्रमित बिरामीको उपचारका लागि प्रयोग गर्नेगरी भण्डारण गरेर राखेको अक्सिजन रेगुलेटर, सर्जिकल मास्क, अक्सिजनको लेवल मापन गर्न प्रयोग गरिने अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री लुटपाट भएको छ ।
किसानको नाममा गहुँको बीउसँगै स्वास्थ्य सामग्री समेत लुटिएकाले बुधबारसम्म भण्डारणमा राखिएका सामग्रीको स्टक भिडाएर के गर्ने भन्ने विषयमा गाउँकार्यपालिकाको बैठकमार्फत् निर्णय गरिने उनले बताए ।