
सिरहा । सिरहाको धनगढीमाई नगरपालिका ९ मुसहर्निया गाउँका हरवा चरवा दलित महिलाहरु ज्याला मजदूरी गरेर जीविका चलाउने भएपनि नियमित बचतलाई निरन्तरता दिएका छन् । हरवा चरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत मुसहर्निया गाउँको ४५ घरधुरी सदाय र ३० घरधुरी राम गरी ७५ घरधुरीको दलित बस्तीमा महिलाहरुले धमिनी महिला बचत समूहमार्फत् बचतलाई निरन्तरता दिएका हुन् ।
समूहकी अध्यक्ष पुकारी मोचीका अनुसार गाउँमा समूह गठन भएदेखि मासिक एक सय रुपैयाँको दरले नियमित बचत गर्दा डेढ लाख रुपैयाँ बचत भएको छ । ‘उक्त बचत रकम समूहको मासिक बैठकमा छलफल गरी सामूहिक निर्णयको आधारमा घर व्यवहार, स्वास्थ्य उपचार जस्ता कामका लागि दुईदेखि पाँच हजार रुपैयाँसम्म बढीमा छ महिनादेखि एक वर्षका लागि मासिक एक सय रुपैयाँको दरले ऋण दिन्छौं’ अध्यक्ष मोचीले भनिन् ‘समूहका सदस्यहरुलाई मात्र दिइने त्यस्तो ऋणको साँबा ब्याज मासिक बैठकमा किस्ताबन्दीको रुपमा फिर्ता गरिने, केहीले अवधि पुगेपछि एकैपल्ट फिर्ता गर्छन् ।’
समूहको बचत रकम परिचालन गर्न थालेपछि सामान्य घर व्यवहारका लागि पनि साहु महाजनसँग चर्को ब्याजमा ऋण लिनै पर्ने बाध्यता हट्दै गएको छ’ समूहका महिलाले सुनाए ‘समूहको बैठकमा ऋणको किस्ताबन्दी रकम असुलीसँगै गाउँको बालबालिकाको जन्मदर्ता, उमेर पुगेकाहरुको नागरिकता, विद्यालय भर्ना, महिला हिंसा जस्ता विषयमा पनि छलफल हुन्छ ।’ महिलाहरुको नियमित बचत तथा छलफलले दलित बस्ती जागरुक बन्दै गएको महसूस भएको महिलाहरु बताउँछन् ।
त्यस्तै, सिरहाको दक्षिणी सीमावर्ती बरियारपट्टि गाउँपालिका ३ मा पर्ने तिलैयाको ५५ घरधुरी मुसहर बस्तीको अवस्था मुसहर्नियाको भन्दा त्यति भिन्न छैन । आफ्नै जमिन नभएकाले गाउँपालिका केन्द्र जाने सडकको दुवै किनारमा झुप्रो बनाएर बसेका हरुवा चरवा परिवारको जीविका चलाउने माध्यम गाउँघरमै मजदुरी हो । गाउँघरमा काम पनि सधैं नपाइने, हरवा चरवाको काम गर्दा पनि जीविका चलाउन सकस भएपछि मजदुरीका लागि भारतको विभिन्न प्रान्तमा काम गर्न समेत गएका छन् ।
घर व्यवहार चलाउने क्रममा गाह्रोसाह्रो पर्दा चर्को ब्याजमा पनि ऋण नपाउने समस्या झेल्नु परेपछि स्थानीय मुहसर महिलाहरुले ‘जय माँ अम्बे महिला बचत समूह’ गठन गरी मासिक रुपमा बचत गर्न थालेका छन् । द फ्रिडम फण्डको आर्थिक सहयोगमा दलित जनकल्याण युवा क्लवले हरवा चरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत गाउँमा बचत समूह परिचालनका लागि सघाएको हो । समूहकी अध्यक्ष कबुतरी सदायका अनुसार अप्ठ्यारो परेका बेला आफ्नै समूहको रकम चलाउन र चर्को ब्याजबाट जोगिन महिलाहरुले बचत गर्न थालेका हुन् । कोष बृद्धिसँगै घुम्ती कोष परिचालन गर्न क्लवले कार्यक्रममार्फत् औरहीस्थित एनएमबी बैंकमा रहेको समूहको खातामा २० हजार रुपैयाँ रकम उपलब्ध गराएको अध्यक्ष सदायले सुनाइन् । ‘पछिल्लो दुई वर्षदेखि नियमित बचत गरेको रकम आयआर्जनका लागि समूहको निर्णयको आधारमा लगानी गरिएको छ ।
समूहकी कोषाध्यक्ष समेत रहेकी विष्णुदेवी साहले घरमा खानेपानी कल जडान गर्न १० हजार, खजनीदेवीले घर व्यवहारका लागि १० हजार, नगियादेवीले छोराको खुट्टा भाँचिदा उपचारका लागि १० हजार, अनितादेवीले प्रसूतीका लागि १० हजार र अमिरकलाले नन्दको विवाहका लागि १० हजार रुपैयाँ लिएकी छन् । ‘घर व्यवहारको क्रममा अप्ठ्यारो पर्दा साहु महाजनकहाँ हात पसार्न जानै पर्ने बाध्यता थियो’ अध्यक्ष सदायले भनिन् ‘समूहमै बचत गरिएको रकम थोरै ब्याजमा पाउँदा सजिलो भएको छ ।’
‘काम गर्न सक्नेहरु जीविकाका लागि कृषि मजदुरी गर्न घर बाहिर जानु पर्ने बाध्यताका कारण बालबालिकाहरु गाउँ नजिकै विद्यालय भएपनि पठाउन सकिंदैनथ्यो’ समूहकी सचिव एकारसी सदायले भनिन् ‘क्लवले गाउँमा बाल सुधार कक्षा संचालन गर्न थालेपछि अहिले बस्तीका दुई दर्जन भन्दा बढी बालबालिका गाउँ नजिकैको जनता मा.वि.मा पढ्न जान थालेका छन् ।’ पहिलेको तुलानामा अहिले गाउँका प्रायः सबै बालबालिका नियमित रुपमा विद्यालय गइरहेका छन्’ उनले भनिन् ।
बरियारपट्टिको छिमेकी औरही गाउँपालिका ४ इँटाटार गाउँका १६ घरधुरी मुसहर महिलाहरुले पनि दिनाभद्री महिला बचत समूहमार्फत् मासिक दुई सय रुपैयाँ बचत गर्दा एक लाख १३ हजार रुपैयाँ जम्मा गरेको अध्यक्ष सोनिया सदाले बताइन् । ‘मजदूरी गरेर जीविका चलाउने महिलाहरुले गरेको बचतले घर व्यवहारका लागि चर्को ब्याजमा ऋण खोज्नु पर्ने बाध्यता हटेको छ’ उनले भनिन् ‘गाउँका बालबालिकालाई कार्यक्रम अन्तर्गत गाउँमै ट्युसन कक्षाको समेत व्यवस्था हुँदा विद्यालय जाने बानीको विकास हुनुका साथै अभिभावकहरुले छोराछोरीलाई पढाउनु पर्ने रहेछ भन्ने बुझ्न थालेका छन् ।’