सामुदायिक विद्यालयमा नवीनतम् सिकाइ केन्द्र संचालन

पर्सा । मधेश प्रदेश अन्तर्गत पर्साको बीरगंज महानगरपालिका अन्तर्गत पर्ने दुई ठाउँका सामुदायिक विद्यालयमा नवीनतम् सिकाइ केन्द्र संचालन गरिएको छ । मधेश प्रदेश सरकारका उद्योग, बाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीको पहलमा सोमबार बीरगंज महानगरपालिका १४ को उम्मे कुलसुम लिलबनात (कन्या विद्यालय) र २० नं. वडामा पर्ने हरपतगंज, बहुअरीस्थित सामुदायिक विद्यालयमा नवीनतम् सिकाइ केन्द्र संचालन गरिएको हो ।
केन्द्रको विधिवत् उद्घाटन गर्दै राज्यमन्त्री रहबर अन्सारीले सामुदायिक शिक्षाको विकासका लागि आफ्नो सानो प्रयासको थालनी भएको उल्लेख गरे । आगामी दिनमा शैक्षिक परिवर्तनका लागि अझ धेरै मिहेनत गर्ने उनले बताए । प्रायः बिपन्न, गरिब तथा दलित समुदायका बालबालिका पढ्ने सामुदायिक विद्यालयमै नवीनतम् सिकाइ केन्द्र स्थापना भएपछि गरिबका छोराछोरीले राम्रो शिक्षा पढ्न पाउँदैनन् भन्ने धारणा फेरिने उनले बताए ।
‘सिकाइ केन्द्रबाट विद्यार्थी र शिक्षक दुवैले परम्परागत शिक्षण विधि बाहिर गएर प्रयोगात्मक शिक्षा, ह्यान्ड–अन गतिविधि, प्रविधि र अन्य नवीन उपकरणहरूको प्रयोगमा आफूलाई केन्द्रित गरी गुणस्तरीय शिक्षा दिन सघाउ पुग्ने छ’ उनले भने ।