
सप्तरी । सामुदायिक सेवा केन्द्र सप्तरीको पाँचौ अधिवेशनले धिरेन्द्रकुमार दासको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिका लागि आकांक्षीहरुले आ–आफ्नो उम्मेदबारी फिर्ता लिएपछि निर्वारोध रुपमा नयाँ कार्यसमिति चयन भएको निर्वाचन संयोजक मनोहर पाोखरेलले जानकारी दिए । कार्यसमिति उपाध्यक्ष बबिताकुमारी देव, सचिव संजयकुमार शर्मा, सहसचिव संजयकुमार साह र कोषाध्यक्ष भोलानाथ चौधरी निर्वाचित भएका छन् । केन्द्रको कार्यसमिति सदस्यमा एनेश्वर दास, जुगलकिसोर मुखिया, दिलिपकुमार दास, देवानन्द चौधरी, नारायण साहु रौनियार, नेत्रकुमार दास, पंकजकुमार सरकार, मुकेश कुमार यादव, सेराज अन्सारी र ज्ञानुदेवी भट्टराई निर्वाचित भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।
कार्यसमिति सदस्यमा पदका आकांक्षी मालतीदेवी चौधरी, विनोदकुमार यादव र शिवकुमार यादवले बुधबार आ–आफ्नो उम्मेदवारी फिर्ता लिएपछि कार्यसमिति निर्विरोध चयन भएको हो । गत २३ वैसाखमा मधेस प्रदेशका शिक्षा, विज्ञान प्रविधि तथा बाणिज्य मन्त्री महेशकुमार यादवले पाँचौ साधारण सभा तथा अधिवेशनको उद्घाटन गरेका थिए ।
जिल्ला समन्वय समिति सप्तरीको सभाकक्षमा सम्पन्न साधारण सभाले केन्द्रको आर्थिक, सांगठनिक प्रतिवेदन पारित गरेपनि कार्यसमितिमा सर्वसम्मत हुन नसकेपछि १ जेठदेखि निर्वाचन कार्यक्रम सुरु भएको थियो । समुदायमा मेलमिलापको माध्यमबाट शान्ति स्थापना गर्न भूमिका खेल्दै आएको केन्द्रले जनचेतनामूलक लगायतका कार्यक्रमहरु गर्दै आएको छ ।